मानव तस्करीकाे डरलाग्दाे अवस्था, अध्यागमनमा कडा निगरानी

विदेश पुगिसक्दा समेत त्यहाँ जानुको कारण खुल्ने बलिया कागजपत्र नहुँदा कतिपय नेपाली फर्कनुपरेको घटना बढ्दै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले प्रस्थान अनुमतिमैँ कडाइ गर्न थालेको अधिकारीहरूले बताएका छन्।

शङ्कास्पद ढङ्गले रुस जान लागेका ४४ जना नेपालीलाई हालै विमानस्थलको अध्यागमनले रोकेको छ। प्रहरी अधिकारीहरूका अनुसार मानव तस्करीसँग जोडेर त्यसको छानबिन भइरहेको छ।

गत मंङ्गलवार एयर अरेबियामार्फत् पर्यटकका रूपमा रुस घुम्न हिँडेका ४४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकारीहरूले प्रस्थान अनुमति दिएनन्।

हिउँद छिप्पिँदै गर्दा अति चिसो बनिरहेको मस्कोमा अहिले घुम्ने अवस्था नरहेको बताइन्छ। त्यसमाथि आफूले बोकेका कागजातमा उनीहरू विभिन्न कम्पनीका मालिक र उच्चतहका कर्मचारी भनिए पनि ती बोक्नेलाई नै आफू कुन अवतार धारण गर्दै विदेश जाँदै छु भन्ने पत्तो थिएन।

यसबारे अनुसन्धान गरिरहेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले भने, “मानिसहरूलाई लगेर बेच्ने भन्दा पनि लगेर अलपत्र पार्ने क्रम बढेको छ। पहिले टर्की देखिएको थियो। त्यसपछि दक्षिण अफ्रिका देखियो। तर अहिले त्यता बन्द छ।”

विमानस्थलको अध्यागमन डेस्कले पछिल्ला समय यस्तै घटनामा दैनिक औसत एक दर्जन मानिसलाई रोक्ने गरेको अधिकारीहरूले बताएका छन्।

यात्रीले बोक्ने रकम, उनीहरूको उमेर, भ्रमणको स्पष्ट उद्देश्यबारे उनीहरूको भनाइ र विगतमा गरेका यात्राले त्यसको नियमन गरिरहेको ती अधिकारीहरूले बताएका छन्।

पर्यटकका रूपमा गएर गैरकानुनी हैसियतमा काम गर्नेदेखि लिएर मानव तस्करको योजनामा फस्न सक्ने भन्दै त्यसो गरिएको उनीहरू बताउँछन्।

विमानस्थलका प्रमुख अध्यागमन अधिकृत राजेश पौडेल भन्छन्, “वैधानिक प्रक्रियाले जान प्रेरित गर्न र उता गएर कोही अलपत्र नपरुन् भनेर असल मनसायले रोक्ने गरिएको छ।”

सन्देहपूर्ण ढङ्गबाट रुस उड्न लागेको पछिल्लो घटनालाई भने मानव तस्करीसँग जोडेर अनुसन्धान भइरहेको बताइएको छ।

विभिन्न मार्गमा कडाइ भइरहँदा तस्करहरूले आफ्नो मार्ग समेत बदलिरहने पाइएकोले यस्ता घटनालाई संवेदनशील ढङ्गबाट हेरिएको अध्यागमन विभागका एकजना निर्देशक विष्णुहरि उपाध्यायले बताए।

गन्तव्यमा पुगेरै नेपाली फर्काइएका घटना पछिल्लो समय जापान, कोरिया, रुस जस्ता देशमा गएका धेरै पाइएका छन्।

खाडी मुलुकका हकमा संस्थागत रूपमा श्रम प्रक्रिया पूरा गरेका बाहेकलाई घुम्न जान कडाइ गरिएको अधिकारीहरूले बताएका छन्।
बिबिसी नेपालीबाट

कमेन्ट गर्नुहोस्