भोलि स्थायी कमिटी बैठक, प्रचण्ड र ओलीलाई घेराबन्दी गर्ने माधव नेपाल समूहको विशेष योजना

काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक भोलि बस्दैछ ।

स्थायी समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीचको एकता प्रक्रियालाई टुंगो लगाउने मुख्य एजेण्डा रहेको छ ।

यसबाहेक सरकारको समीक्षाका बारेमा समेत स्थायी समितिको बैठकमा छलफल हुन सक्ने देखिन्छ ।

पार्टी एकीकरणका विषयमा प्रदेशस्तरसम्मको एकताका बारेमा नेकपाको सचिवालयले यसअघि नै टुंगो लगाईसकेको अवस्था छ ।

भोली बस्ने स्थायी समितिको बैठकले ७७ वटा जिल्लाका इन्चार्ज र अध्यक्षबारे निर्णय गर्ने छ । यसबाहेक प्रदेश समन्वय कमिटि र विशेष प्रदेश कमिटिका बारेमा समेत भोली छलफल हुन सक्ने छ ।

यसअघि प्रदेश तहमा एकीकरणका लागि नेकपाले सात वटै प्रदेशमा पूर्व नेकपा एमाले र माओवादी केन्द्रबाट रहने गरी कार्यदल गठन गरेको थियो ।

कार्यदलले दिएको सिफारिस गरेको आधारमा सामान्य परिमार्जन सहित सचिवालय बैठकले प्रदेशको एकीकरण प्रक्रिया टुंगो लगाएको हो ।

अब जिल्ला इन्चार्ज र अध्यक्ष तथा सचिवको चयन हुन बाँकी छ । त्यसपछि जिल्ला कमिटि र सो भन्दा मातहतका कमिटिहरुको एकीकरण हुने छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पार्टीका प्रभावशाली नेता माधव नेपाललाई समर्थन गर्ने समूहले भने यसअघि नै प्रदेश एकीकरणको प्रक्रियामा आपत्ती जनाएको थियो ।

माधव नेपाल समूहले प्रदेशको एकीकरणलाई समेत स्थायी कमिटिको बैठकबाट टुंगो लगाउनु पर्ने अडान लिएको थियो ।

यद्यपी सचिवालयले भने त्यो प्रस्ताव स्वीकार गरेन । नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले निर्णय लादेको आरोप माधव नेपाल समूहको छ ।

यता अध्यक्षद्वयले भने माधव नेपाल समूहको आरोपबारे कुनै खण्डन सार्वजनिक गरेका छैनन् । तर माधव नेपाल समूहले आफ्नो समूह–स्वार्थ पुर्ति गर्न अनावश्यक बार्गेनिङ गरेको संस्थापन पक्षका समर्थक बताउँछन् ।

यो पृष्ठभूमिमा भोली बस्ने स्थायी कमिटिको बैठकमा माधव नेपाल समूहले जिल्ला नेतृत्वको बारेमा विशेष अडान लिने रणनीति अपनाउने देखिएको छ ।

एभरेष्ट दैनिकलाई प्राप्त जानकारी अनुसार, माधव नेपाल समूहले ७७ वटै जिल्लामा सम्भावित नेतृत्वको सूचि नै तयार गरी त्यसमा अडान लिने तयारी गरेको छ ।

यसअघि एकता कार्यदलले दिएको सुझावमा आंशिक सहमति मात्र रहेको भन्दै माधव नेपाल समूहले सबै जिल्लामा आफ्नो समूहका कार्यकर्ता तथा नेताहरु समेत समेटिनुपर्ने अडान राख्दै भोलीको बैठकमा अडान लिने बताइन्छ ।

पूर्व नेकपा माओवादी केन्द्रभित्र खासै विवाद नरहेपनि पूर्व एमालेभित्र नेपाल, खनाल, गौतम र ओली समूहहरुको सशक्त संगठनात्मक उपलब्धिका कारण भोलीको बैठक प्रभावित हुन सक्ने देखिन्छ ।

जनवादी केन्द्रीयताको सिद्धान्तलाई मान्ने दावी गरेपनि पूर्व नेकपा एमाले समूहभित्र नेतृत्वविरुद्ध सार्वजनिकरुपमा नै आलोचना हुने गरेको छ। माधव नेपाल समूहका नेता योगेश भट्टराई, घनश्याम भुसाललगायतले नेकपाको गठनपछि सार्वजनिकरुपमा नै कतिपय विषयमा आलोचना गर्दै आएका छन् ।

स्थायी कमिटिको बैठकमा संस्थापन पक्षले भने कार्यदलको सिफारिसलाई नै निर्णयार्थ प्रस्तुत गर्ने देखिन्छ । माधव नेपाल समूहले भने रणनीतिकरुपमा आफ्नो समूहका कतिपय व्यक्तिहरुको स्थान सुरक्षित हुने अवस्थामा मात्रै कार्यदलको बैठकमा प्रस्तुत हुने जिल्ला नेतृत्व स्वीकार गर्ने देखिन्छ ।

नेकपाको गठन भएको लामो समय भएपनि तल्लो तहसम्म एकता हुन नसक्दा यसको प्रत्यक्ष असर पार्टी मात्र भई सरकारको काम कारवाहीमा पनि परेको छ ।

सरकारलाई कसले नियन्त्रण या नियमन गर्ने भन्ने विषयमा अहिले पनि विवाद नै रहेको छ । पूर्व माओवादी केन्द्रभित्र खासै विवाद भने देखिएको छैन । तर पूर्व एमालेभित्रको विवादले पूर्व माओवादी समूहभित्र पनि प्रभाव पर्न सक्ने सम्भावना नदेखिएको होइन ।

प्रदेश र जिल्लास्तरमा नेतृत्व या अन्य तहमा स्थान नपाउने पूर्व माओवादीहरुले पूर्व नेकपा एमालेका केही समूहलाई समर्थन गर्न सक्ने सम्भावना उत्तिकै रहेको छ ।

जे होस, भोलीको बैठक भोली नै निर्णायार्थ सम्पन्न हुनसक्ने देखिन्न । नेकपाभित्रका कैयन समूहका समूहगत एजेण्डाहरुका आधारमा निर्णय प्रक्रिया प्रभावित हुने अवस्थामा भोलीको बैठकमा केही नयाँ नदेखिएपनि यसले नेकपालाई नयाँ ध्रुविकरण र उचाईतर्फ भने लैजाने देखिन्छ ।

अहिले पूर्व नेकपा माओवादीले भने पूर्व नेकपा एमालेभित्रको अन्तरविरोधलाई पर्ख र हेरको आधारमा लिएको देखिन्छ । अध्यक्ष प्रचण्डले अहिले कुनै एकल समूहलाई समर्थन गरेका छैनन् ।

सबै समूह मिलेर राष्ट्रिय समृद्धिको अभियानमार्फत समाजवादतर्फ अघि बढनुपर्ने बताउँदै प्रचण्डले विधि र पद्दतीमार्फत असहमित र अन्तरविरोध हल गर्नुपर्ने कुरामा बारम्बार जोड दिँदै आएका छन् ।

प्रचण्डको नेतृत्व र उनको भिजन अनुसार नेकपा अघि बढ्न सकेको अवस्थामा पूर्व नेकपा एमालेको अन्तरविरोधलाई साम्य पार्न भने बल पुग्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्