८ गुनाले बढ्यो हवाई यात्रुको दुर्घटना बिमा रकम

काठमाडौं, मंसिर २८ । नेपालमा दर्ता भएका वायुसेवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुले दुर्घटनामा ज्यान गुमाएमा अब १ करोड ७९ लाख रूपैयाँ बिमाबापत क्षतिपूर्ति पाउने छन् । यसअघिको क्षतिपूर्ति रकमको तुलनामा ८ गुनाले बढेको हो ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार यसअघि यात्रुहरुले २० हजार डलर (२२ लाख ९८ हजार) हाराहारी दिइन्थ्यो ।

एक दशकदेखि चर्चामा रहेको मन्ट्रियल महासन्धी अनुसार यो दायित्व वृद्धि भएको हो । यो महासन्धिबारे नेपालमा पहिलोपटक २०६५ सालमा औपचारिक रुपमा चर्चा सुरु भएको थियो ।

भदौ पहिलो साता नेपालले मन्ट्रियल महासन्धि अर्थात् अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकिकरण गर्ने सम्बन्धमा भएको महासन्धि अनुमोदन गरेको थियो ।

त्यसपछि पर्यटन मन्त्रालयले यो नियमलाई अन्तर्राष्ट्रिय उड्डयन संगठनमा असोज ३० गते जानकारी गराएको थियो । ‘आइकाओमा जानकारी गराइएको ६० दिनपछि लागू हुने भएकाले भोली (शनिबार) देखि यो नियम लागू हुन्छ,’ सहसचिव लामिछानेले भने । आइकाओमा दर्ता गरिएपछी उक्त संस्थाले आफ्ना १ सय ९२ वटा सदस्य मुलुकहरुलाई जानकारी गराउनुपर्ने भएकाले ६० दिन लगाउने गरेको छ ।

मन्ट्रियल महासन्धि अनुमोदन गरी लागू गर्ने नेपाल १ सय ३५ औं मुलुक भएको छ । यो महासन्धि लागू भएका देशमा यात्रुको सामान डेलिभरी गर्न हवाई कार्गोले ढिला गरे वा ओसार्ने क्रममा सामानको नोक्सानी भए प्रतिकिलो १९ एसडीआर (स्पेसल ड्रइङ राइट्स) तिर्नुपर्छ ।

एसडीआर भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषले तय गरेको मानक मुद्रा हो, जो हाल एक एसडीआर बराबर १.३८ अमेरिकी डलर (१५८.७३ नेपाली रुपैयाँ) हुन आउँछ ।

त्यस्तै ब्यागेजको नोक्सानी हुँदा १ हजार १ सय ३१ एसडीआर र यात्रु समयमा गन्तव्यमा पुग्न नसक्दा विमान कम्पनीले प्रतियात्रु ४ हजार ६ सय ९४ एसडीआरका दरले क्षतिपूर्ति तिर्नुपर्छ । उडानका दौरान भएको दुर्घटनाबाट यात्रुको मृत्यु भएमा वा चोटपटक लागेमा चाहिँ प्रतियात्रु एक लाख एसडीआर ९करिब १ करोड ७४ लाख नेपाली रुपैयाँ० क्षतिपूर्ति तिर्नुपर्नेछ । यो समाचार कान्तिपुर दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्