नेकपा सचिवालय बैठकः स्थायी समितिको कार्यसूची तय

काठमाडौं, मंसिर २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले सांगठिनिक एकीकरणलाई तत्काल टुङ्गोमा पुर्याउने, पार्टी र सरकारको कामलाई थप व्यवस्थित बनाउने र आगामी कार्यदिशा तय गर्ने विषयमा आवश्यक निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ का अनुसार एकता प्रक्रियामा बाँकी रहेका काम कारवाहीलाई तत्काल पूर्णता दिने, सरकारको काम कारवाहीको समीक्षा गर्ने, सकारात्मक काम कारवाहीलाई थप अगाडि बढाउने र कमजोरी हटाएर जानेलगायतका विषय स्थायी समिति बैठकमा पेश गर्ने गरी कार्यसूची तय भएको हो ।

स्थायी समितिको बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा शुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

बहुप्रतिक्षित स्थायी समितिको बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम कारवाहीलाई टुंगोमा पुर्याउने विश्वास लिइएको छ । गत जेठमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा पार्टी एकता भई नेकपा बनेपछि प्रदेश समितिका पदाधिकारी र सदस्यको चयन भए पनि जिल्ला, नगर, गाउँ तथा स्थानीय पार्टी कमिटीको एकताले पूर्णता पाउनसकेको छैन ।

यस्तै जनवर्गीय एवं पेशागत सङ्गठनको समेत एकता प्रक्रिया बाँकी रहेको छ । एकता प्रक्रिया र सरकारको काम कारवाहीको विषयमा स्थायी कमिटीको बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ । यस्तै पोलिटव्यूरोको चयनसमेत हुनसकेको छैन ।

सचिवालयको बैठक निरन्तर बस्दै आएको भए पनि स्थायी समितिको बैठक भने लामो समयदेखि बस्न सकेको थिएन । यस्तै केही दिन पहिले सचिवालयको बैठक समयमा सुरु नभएको भन्दै बैठक बहिष्कार गरेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सँग पार्टी अध्यक्ष प्रचण्डले आज बिहान छलफल गरेका थिए । नेता गौतमको निवास भैँसेपाटीमा छलफल भएको बताइएको छ । रासस

कमेन्ट गर्नुहोस्