चुनाव चिह्‍नमा पानी हालेर कांग्रेसको महासमिति बैठक सुरु [फोटोफिचर]

काठमाडौं, मंसिर २९ । संघीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको शुभारम्भ गरेका छन् ।

सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाइएको महासमिति बैठकमा एक हजार ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

उद्घाटन मञ्चको अग्रभागमा अग्रज स्वर्गीय नेताहरु बिपी कोइराला, सुवर्णशम्शेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्वीर राखिएको छ ।

‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य’ नारा रहेको महासमिति बैठक आगामी पुस ३ गतेसम्म चल्नेछ । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको काङ्ग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई आदर्शका रुपमा अघि सार्दै आएको छ । काङ्ग्रेसको यो महासमिति बैठकलाई अन्य राजनीतिक दलले पनि निकै चासोका साथ हेरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्