नौ महिना सिकाइमै बित्यो, अब सबै क्षेत्रको विकास हुन्छः मुख्यमन्त्री भट्ट

बैतडी, मंसिर २९ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको आवश्यकतालाई आधार मानेर विकास निर्माणका काम अगाडि बढाइएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ शाखा बैतडीले शनिबार खोड्पेमा आयोजना गरेको पत्रकार सम्मलेनमा उनले देश सङ्घीयताको नयाँ अभ्यासमा रहेकाले विकासको गतिमा केही ढिलाई भएपनि जनताका अपेक्षा पूरा हुने जानकारी गराए ।

‘पहिलो नौ महिना सिकाइमै बितेकाले अब सबै क्षेत्रको विकास हुन्छन्,’ उनले भने, ‘कर्मचारी तथा कानूनको अभावमा सबै काम गर्न सकिएन, चालू आर्थिक वर्षदेखि सबैको आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौं ।’

मन्त्री भट्टले सुदूरपश्चिम प्रदेश कृषि, जलस्रोत, पर्यटन, तथा जडीबुटीको थुप्रै सम्भावना रहेकाले समृद्ध प्रदेश बन्ने विश्वास व्यक्त गरे । उाले भने, “यस प्रदेशको वेरोजगारी समस्यालाई सम्बोधन गर्न प्रदेश सरकारले युवालाई सहुलियत ऋण दिने कार्यक्रम ल्याउने छ ।”

यसैबीच, पाटन नगरपालिका–९ स्थित विजयपुुरस्थित ज्ञानेश्वर माविको ४४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शनिबारनै उनले शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक स्वयं आफूले जागरुक हुन आग्रह गरेका थिए । रासस

कमेन्ट गर्नुहोस्