दुई अध्यक्षबीचको एकता विश्वमै नमूना हो, कसैले तोड्न सक्दैनः प्रधानमन्त्री ओली

काठमाडौं, पुष १ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरे पनि कोही सफल नहुने स्पष्ट पारेका छन् ।

दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेकाले उनीहरुको यो प्रयास सम्भव नभएको पार्टी अध्यक्षसमेत रहेका ओलीले बताए ।

देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति जनाए ।

तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आईतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुक बनाउने संकल्पका साथ भएको दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता भएको उल्लेख पनि गरे ।

उनले सरकारविरुद्ध भयानक प्रचार युद्ध भइरहेको दावी पनि गरे । उनले राष्ट्रपति जस्तो गणतन्त्र नेपालको सम्मानित तथा मर्यादित संस्थालाई निरन्तर आक्रमण प्रयास भइरहेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्