परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा जाँदै

काठमाडौ‌, पुष १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भोलि (सोमबार) बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् ।

उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उच्च अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने छन् ।

पुस ३ गते नै परराष्ट्र सचिव शङ्करदास वैरागीले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएशिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिव एलाइस जी वेल्ससँग परामर्श बैठक गर्ने कार्यक्रम छ ।

सचिव वैरागीले नेतृत्व गर्ने परामर्श बैठकका सदस्यमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, अर्थ र गृह मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली दूतावासका अधिकारी हुन् । मन्त्री ज्ञवाली पुस ६ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । रासस

कमेन्ट गर्नुहोस्