गणतन्त्र विरोधीविरुद्ध प्रतिकारमा उत्रिने प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं, पुष १ । प्रधानमन्त्री केपी ओलीले गणतन्त्रका धरोहरहरुविरुद्धको दुस्प्रचारका विरुद्धका प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् ।

‘डमरुलाई कसैले आक्रमण गर्छ भने बघिनी जतिसुकै ठुलो भीड भए पनि प्रतिकारमा उत्रने’ बताउँदै प्रधानमन्त्री ओलीले आन्दोलनका उपलब्धिविरुद्ध दुस्प्रचार गर्नेहरुलाई चेतावनी दिएका हुन् ।

‘जबसम्म डमरुलाई कसैले आक्रमण गर्दैन तबसम्म बघिनी चुप लागेर बस्छे’ राजधानीमा आयोजित एक कार्यक्रममा प्रम ओलीले भने, ‘तर जब डमरुलाई कसैले आक्रमण गर्छ बघिनी जतिसुकै ठुलो भीड भए पनि प्रतिकारमा उत्रन्छे। यो उसको धर्म नै हो ।’

प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी महासंघ (पिपिएलए) र गणतान्त्रिक तथा प्रगतिशिल कानुन व्यवसायी संघ (आरपिएलए) बीच सम्पन्न एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलन, नेकपा र सरकारका विरुद्ध हमला गर्नेहरूले यो कुरा हेक्का राख्नु पर्ने चेतावनी दिए ।

‘राष्ट्रपतिका विषयमा अनावश्यक दुस्प्रचार गरिएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘यो कुनै व्यक्ति विशेष नभएर गणतन्त्रलाई नै धराशायी बनाउने योजनामा केन्द्रित छ।’

उनले सफलतातर्फ अघि बढिरहेको सरकारका विरुद्ध अनेक किसिमका दुस्प्रचार गरिएको पनि बताए। ‘हामी अहिले असाधारण सफलताको विन्दुमा छौँ’ उनले भने, ‘तर यो सफलताको विरुद्ध भयानक प्रचार युद्ध सञ्चालनमा छ। त्यसलाई परास्त गर्नुपर्दछ।’

बहुमत जनताको अभिमतबाट, बहुमत प्रतिनिधिले अनुमोदन गरेर बनाएको सरकार केही केहीलाई प्रिय नलाग्ने भए पनि यसले आम जनताको हितमा नै काम गर्ने प्रधानमन्त्री ओलीले दाबी गरे।

दुई सङ्गठनको एकीकरणबाट नेपाल कानुन व्यवसायी सङ्गठन (एनएलए) को गठन गरिएको छ। सङ्गठनको संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमणि पोख्रेल सहित ४५ सदस्यीय समिति चयन भएको छ।

कमेन्ट गर्नुहोस्