नगर स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी सुरु

कञ्चनपुर, पुष २ । भीमदत्त नगरपालिकामा दोस्रो नगर स्तरीय माध्यमिक विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तयारी सुरु गरिएको छ ।

भीनपा सामाजिक विकास समितिले पुस २५ गते प्रतियोगिता गर्ने निर्णय गरिएपछि तयारी सुरु गरिएको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्ट संरक्षक रहने गरी सामाजिक विकास समितिका सभापति हरक सिह धामीको संयोजकत्वमा प्रतियोगिता सञ्चालनका लागि मूल समिति गठन गरिएको छ ।

भीनपा शिक्षा, यृुवा तथा खृलकूद शाखाका प्रमुख उप सचिव पदमराज जोशीले विद्यालय स्तरदेखि खेलकूद विकासका लागि नगर स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

‘पुस २५ गते प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको छ, त्यसका आधारमा तयारी सुरु गरिएको छ’ उनले भने, ‘विद्यालय स्तरदेखि खेलकूदको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको छ ।’

भीमदत्त नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत गरी ५५ माध्यमिक विद्यालयले प्रतियोगितामा भाग लिन सक्ने भएका छन् ।

गत वर्ष फागुनमा प्रतियोगिता गरिएको थियो । गत वर्ष नगर स्तरीय माध्यमिक खेलकूद र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता छुट्टाछुट्टै आयोजना गरिएको थियो ।

शिक्षा, यृुवा तथा खृलकूद शाखा स्रोत व्यक्ति भवानी प्रसाद पन्तले विद्यालयका प्रधानाध्यापकहरुको सल्लाह अनुसार यस वर्ष दुबै प्रतियोगिता मिलाएर एकै मितिमा राखिएको जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि मूल सहित सहित प्राविधिक समिति, फिल्ड व्यवस्थापन समिति, विद्यालय समन्वय समिति गठन गरिएको छ ।

जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शेर बहादुर चन्दलाई प्राविधिक समितिको जिम्मेवारी दिइएको छ । यसैगरी स्रोत व्यक्ति पन्तको संयोजकत्वमा फिल्ड व्यवस्थापन र उप सचिव जोशीको संयोजकत्वमा विद्यालय समिति गठन गरिएको छ ।

उप सचिव जोशी नेतृत्वको समितिलाई प्रतियोगितामा विद्यार्थीहरु सहभागी गराउन सामुदायिक तथा संस्थागत विद्यालयसित समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

गत वर्ष नगर क्षेत्रका ३९ विद्यालयले भाग लिएका थिए । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो, उसु लगायतका खेल राखिएका छन् ।

कमेन्ट गर्नुहोस्