मनिषा कोइरालाकाे पुस्तक ‘हिल्ड’ को ग्लोबल लन्च पोखरामा हुने

काठमाडौं- नायिका मनिषा कोइरालाले लेखेकाे पुस्तक ‘हिल्ड’ को ग्लोबल लन्च पोखरामा हुने भएको छ।

पोखरामा पुस ७ गतेबाट आयोजना हुने नेपाल लिटरेचर फेस्टिभलमा कोइरालाको पुस्तक सार्वजनिक हुने भएको हो।

सन् २०१२ मा पाठेघरको ‘डिम्बासय क्यान्सर’ पत्ता लागेको मनिषा कोइरालालाई  रोग पत्ता लाग्दा क्यान्सर चौथो चरण (अन्तिम) अवस्थामा पुगेको बताइएको थियो।

काठमाडौंस्थित नर्भिक अस्पतालले उनलाई डिम्बासयको क्यान्सर भएको हुनसक्ने प्रारम्भिक रिपोर्टमा बताएको थियो, जसलाई भारतको मुम्बईस्थित जसलोक अस्पताले नर्भिक अस्पतालको रिपोर्टलाई सदर गर्दै उनलाई डिम्बासयको प्राथमिक चरणको क्यान्सर भएको बताएको थियो।

थप उपचारका लागि अमेरिका पुगेकी उनको उपचार अमेरिकास्थित स्लोन केटरिङ अस्पतालमा भएको थियो। करिब ६ महिना सघन उपचार र केमोथेरापीपछि उनलाई सन् २०१५ मा क्यान्सर रोगबाट मुक्त भएको घोषणा गरिएको थियो।

सन् १९९१ मा बलिउड निर्देशक सुभाष घई निर्देशित चलचित्र ‘सौदागर’ बाट आफ्नो फिल्मी यात्रा थालेकी कोइरालाको पहिलो फिल्म नै अत्याधिक सफल भएपछि उनलाई मुम्बईको मायानगरीमा कहिल्यै पछि फर्केर हेर्नु परेन।

चार फिल्मफेयर सम्मान प्राप्त गरेकी कोइरालाका केही सम्झनायोग्य फिल्महरूमा बम्बे, खामोसीः द म्युजिकल, लज्जा, अग्निसाक्षी, १९४२ अ लभ स्टोरी, मन, दिल से रहेका छन्।

पहिलो  नेपाली फिल्म ‘फेरि भेटौंला’ मा सन् १९८९ मा नायिकाको रुपमा काम गरेकी उनले सात वर्षअघि अर्थात सन् २०११ मा धर्मा नामक नेपाली फिल्ममा राजेश हमालको नायिकाको रुपमा काम गरेकी थिइन्।

क्यान्सर रोगको पूर्ण निदानपछि कोइराला हाल सादगीपूर्ण जीवन व्यतित गर्दैछिन्। उनी क्यान्सर रोग र त्यसको रोकथामका विषयमा, महिला सशक्तीकरण, स्वास्थ जीवन लगायतका विषयमा प्रवचन दिने गरेकी छन्।

उनको पुस्तक ‘हिल्ड’ डिम्बासय क्यान्सरविरुद्ध उनले लड्दाको अनुभव हो। ‘क्यान्सरबाट मुक्त हुँदा एउटा ठूलो युद्ध जितेको अनुभव भएको थियो’, उनले केही समयअघि आफ्नो पुस्तकको ‘कभर लन्च’ गर्दा भनेकी थिइन्।

क्यान्सर रोगसँग लड्दा उनलाई अस्पतालका कर्मचारी, घरपरिवार, आफन्तले कसरी ढाढस दिएका थिए। नकारात्मक सोचलाई उनले कसरी सकारात्मकमा बदल्न सकिन तथा उनलाई क्यान्सर रोग लागेपछिको अनुभव पुस्तकमा संग्रहित गर्ने प्रयास गरेकी छन्। उनको पुस्तक हिल्डको नेपाली अनुवाद फाइन प्रिन्टले निकाल्ने भएको कार्यक्रमा जानकारी दिइएको छ।

कमेन्ट गर्नुहोस्