निर्मला हत्या प्रकरणः हत्या स्वीकारेका प्रदीप र विशालको पनि डिएनए मिलेन

काठमाडौं, पुष ३ । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई किशोरको पनि डिएनए रिपोर्ट नेगेटिभ आएको छ।

गत मंसिर १८ गते काठमाडौंको राजधानीबाट पक्राउ परेका भीमदत्तनगर नगरपालिका–१८ निवासी प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट नेगेटिभ आएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

‘बलात्कारपछि हत्या गरेर गाउँकै उखुबारीमा भेटिएको निर्मलाको शवबाट निकालिएको ‘भजाइनल स्वाबसँग दुवैजनाको डिएनए मिलेको पाइएन’, उच्च स्रोतले भन्यो, ‘दुवैको डिएनए परीक्षणको रिपोर्ट विधि विज्ञान प्रयोगशालाले प्रहरी प्रधान कार्यालयलाई बुझाइसकेको छ। अब यसलाई जिल्ला सरकारी वकिलको रोहबरमा कञ्चनपुर प्रहरीले आज या भोलिसम्म खोल्नेछ।’

मंसिर १८ गते महाराजगञ्जबाट पक्राउ परेका प्रदीपले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमक्ष पनि साविती बयान दिएका थिए। उनकै बयानका आधारमा प्रहरीले प्रदीपकै साथी विशाललाई उनकै घरबाट पक्राउ गरेर साउन २१ गते काठमाडौँ ल्याएको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा लिइएको बयानमा प्रदीपले सुरुमा हत्या गरेको साविती बयान दिएका थिए। उनकै बयानका आधारमा पक्राउ परेका विशालले पनि बयानमा घटना स्वीकारेका थिए।

तर, पछिल्लो समयमा उनीहरुले पटक पटक बयान फेर्दै प्रहरीलाई नै अफ्ठेरोमा पारेका थिए। उनीहरुसँगको बयान चलिरहेका बेला डिएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो।

तर, त्यहाँ गरिएको परीक्षणमा दुवैजनाको डिएनए निर्मलाको स्वाबसँग नमिलेपछि प्रहरी अनुसन्धान मोडिएको हो। अहिलेसम्म करिब कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, बलात्कारको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसहित २२ जनाको डिएनए परीक्षण गरिएको छ। तर ती कसैसँग पनि निर्मलाको स्वाब नमिलेपछि प्रहरी अनुसन्धान झन् जटिलतातर्फ धकेलिएको हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला प्रकरणमा अनुसन्धानको दायरा साँघुरिएको यसअघि नै बताइसकेका छन्। अझ रक्षामन्त्री ईश्वर पोखरेलले त निर्मलाका हत्या अभियुक्त पक्राउ परिसकेको भन्दै चाँडै सार्वजनिक गर्ने अभिव्यक्ति नै दिए।

निर्मलाको स्वाब नै गलत ?

प्रहरीले अहिलेसम्म डिएनए गरेका २२ जनाको रिर्पोट नेगेटिभ आएपछि निर्मलाको भजाइनल स्वाब संकलन विधि नै गलत भएको आशंका बढ्न थालेको छ।

निर्मलाको हत्या भएको भीमदत्तनगर नगरपालिका–२ र १८ को सीमास्थित उखुबारीको घटनास्थल जाँच प्रकृति मुचुल्का संकलनबाटै प्रहरीले गडबडी गरेकाले अहिलेको जटिल अवस्था निम्तिएको प्रहरी अधिकारी नै बताउँछन्।

अपराध अनुसन्धानमा घटनास्थलको सबुतलाई पहिलो प्रमाण मानिन्छ। तर अनुसन्धानमा विज्ञता भएका प्रहरी घटनास्थल नपुग्दा प्रमाण मेटिने गरेको पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन्। उनले निर्मलाको केशमा पनि अनुसन्धान विज्ञको अभाव हुँदा सुरुबाटै प्रमाण मेटिएको आशंका गरे। यो समाचार अन्नपूर्ण दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्