सडकमै पैसा बर्सिन थालेपछि…..

न्यु जर्सी (अमेरिका), पुस ३ । संयुक्त राज्य अमेरिकाको न्यु जर्सीस्थित एउटा सडकमा अचम्मको दृश्य देखा पऱ्यो । बिहान बिहान आ-आफ्नो कार्यालय जान निस्किएका मानिस अचानक सडकमा पैसा बर्सिन थालेपछि अचम्म परे ।

एउटा ट्रकबाट नोट उडेर आउन थाले पछि धेरैले आफ्ना सवारी साधन रोकेर पैसा टिप्न थालेका थिए । ट्रकबाट खसेका नोटहरू एकै छिनमा सडक भरि छरस्पष्ट भएपछि पैसा टिप्नेहरूको मेला नै लागेको थियो ।

 एबीसी-टीभीले जनाए अनुसार यो घटना न्यु जर्सीको इस्ट रुदर्फोर्डको रुट नम्बर ३ मा भएको थियो । प्रहरी अधिकारीहरूका अनुसार उनीहरूले रकम बोकेर लैजाँदै गरेको एउटा बख्तरबन्द ट्रकले नोटहरू उडाउँदै गइरहेको सूचना पाएका थिए । उनीहरूका अनुसार ट्रकको ढोकामा आएको खराबीका कारण भित्र राखिएका नोटहरू उडिरखेका थिए ।

प्रहरीको चेतावनी: कसैसँग यी नोटहरू भेटिएको खण्डमा अचोरीको आरोप लाग्न सक्ने

यो घटनाको भिडियो सामाजिक संजालमा समेत भाइरल हुन पुगेको छ । भिडियोमा कयौं मानिस आफ्ना कार सडकमै छोडेर पैसा बटुल्नतिर लागेका थिए । अधिकारीहरूका अनुसार यसो हुँदा थुप्रै दुर्घटनाहरू समेत भएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यस घटनामा दुई ओटा झोलामा भएको ५ लाख १० हजार डलर सडकमा खसेको बताएको छ । यस मध्ये एउटा झोलामा १ लाख ४० हजार डलर र अर्कोमा ३ लाख ७० हजार डलर रहेको रुदर्फोर्ड प्रहरीले जनाएको छ ।

यसरी खसेको मध्ये २ लाख ५ हजार जति सम्बन्धित ट्रकमा रहेका कर्मचारीहरूले तत्कालै फेला पारेको र ५ जनाले लगभग ११ हजार डलर जति फिर्ता गरेको बताइएको छ । प्रहरीले लगभग ३ लाख डलर अझै हराइरहेको बताएको छ ।

प्रहरीले सर्वसाधारणलाई आफूसँग यी नोटहरू भएको खण्डमा नजिकको प्रहरी कार्यालयमा फिर्ता गरिदिन अपिल गरेको छ । साथै प्रहरीले कसैसँग यसरी हराएका नोटहरू फेला परेको खण्डमा उनीहरूलाई चोरीको आरोपमा मुद्दा चलाइने चेतावनी समेत दिएको छ ।

कमेन्ट गर्नुहोस्