आइपिएल-२०१९ को अक्सन जारी, उनद्कट सबैभन्दा महँगोमा, युवराजले पाएनन् खरिददार

बैंगलोर, पुस ३ । आइपिएलको बाह्रौं संसकरणको लागि खेलाडीहरूको अक्सन जारी छ र जारी किनबेचमा फ्रेंचाईजीहरूले अचम्मको प्रतिक्रिया देखाएका छन् । यस पालीको अक्सनमा भारतका स्टार खेलाडी युवराजसिंहमाथि कुनै पनि टोलीले रुची नदेखाउँदा उनी यस आइपिएलमा नदेखिने भएका छन् ।

युवराजले आफ्नो आधार मूल्य गतवर्षको भन्दा आधा घटाएर एक करोड भारतीय रुपैयाँ बनाएका थिए । कुनै बेला ट्वेन्टी-ट्वेन्टी विश्वकपमा ६ बलमा ६ छक्का लगाएर विश्व किर्तिमान बनाएका युवराज रेकर्ड मूल्यमा बेचिने आशा गरिएको थियो ।

उता युवा भारतीय खेलाडी अक्षर पटेल भने ५ करोड भारतीय रुपैयाँमा बेचिएका छन् । उनको आधार मूल्य पनि १ करोड नै थियो । उनलाई दिल्ली क्यापिटलले सर्वाधिक बोली लगाएर आफ्नो टीममा परेको हो ।

त्यस्तै हालसम्म सर्वाधिक ५ करोडमा बोली लागेका अर्का खेलाडी वेस्टइन्डिजका कार्लोस ब्रेथवेट हुन् । उनलाई कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पन्जाबलाई पछार्दै आफ्नो टीममा सामेल गरेको हो । उनको आधार मूल ७५ लाख रहेको थियो ।

हालसम्म बोली लागेका खेलाडीमध्ये भारतीय बलर जयदेव उनद्कट सबैभन्दा महँगोमा अनुबन्धित भएका छन् । बेस प्राइस १ करोड ५० लाख रहेका उनद्कटलाई उनको पछिल्लो टीम राजस्थान रोयल्सले ८ करोड ४० लाखमा आफूसँग जोडेको हो । पछिल्लो वर्ष उनलाई राजस्थान रोयल्स ले नै ११ करोड ५० लाखमा किनेको थियो ।

२०१९ को आइपिएलको लागि ३४६ खेलाडी मैदानमा रहेका छन् जसमा ९ खेलाडीहरूले आफ्नो आधार मूल्य २ करोड राखेका छन् । यसमा एक जना पनि भारतीय खेलाडी छैनन् ।

नेपालबाट आइपिएल खेल्ने एक मात्र खेलाडी सन्दीप लामिछाने भने यसपाली अक्सनमा सामेल छैनन् । उनलाई दिल्लीले पहिले नै आफ्नो टीममा अनुबन्धित गरिसकेको छ ।

 

कमेन्ट गर्नुहोस्