कस्तो अचम्मः ५१ रुपैयाँमा म्यूजिक भिडियो निर्माण !

५१ रुपैयाँ लगानीमा म्यूजिक भिडियो निर्माण भयो भन्दा अचम्म लाग्न सक्छ ।

तर, केही दिनअघि मध्यराति नक्साल बाल मन्दिरमा एक भिडियो निर्माण हुँदै थियो जुन साँच्चै ५१ रुपैयाँ प्रतिव्यक्ति पारिश्रमिक लिएर छायाङ्कन भइरहेको थियो ।

पत्रकार दीपेन्द्र घिमिरेको शब्दमा पछिल्लो समय भारतीय सांगीतिक प्रतियोगिता ‘सारेगमप’मा टप ११ सम्म पुगेकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको गीत ‘रङ्गभित्रको उजाड जिन्दगी’ बोल गीतको भिडियो छायाङ्कन गरिएको हो ।

मेनुका नेपाल आइडलको पहिलो सिजनको समेत टप ११ मा पुगेर बाहिरिइएकी थिइन् । गीतमा एसडी योगीको संगीत रहेको छ भने रिकेश गुरुङले संगीत संयोजन गरेका हुन् ।

गीतको भिडियोमा चर्चित नायिका निता ढुंगाना र अभिनेता निराजन प्रधानको अभिनय समेटिएको छ । अनिल के मानन्धरको छायाङ्कन, शान थापाको निर्देशन रहेको भिडियोमा सुप्रिम पराजुलिको सम्पादन रहने छ । भिडियोमा संलग्न सबैले जम्मा रु ५१ रुपैयाँ पारिश्रमिक लिएका छन् ।

आखिर ५१ रुपैयाँमात्र किन त भन्ने प्रश्नमा सबैको एकै जवाफ थियो, ‘कुनै काम पैसाका लागि गरिन्छ त कुनै आत्मसन्तुष्टिका लागि । तर, यो गीत राम्रोमात्र बनेको छैन यो गीतसँग हाम्रो मन जोडीएको छ ।

केही कज लिएर निर्माण भएको यो गीतको हिस्सा हुन पाउनु हाम्रो लागी राम्रो कुरा हो । पैसा नै सबै कुरा होइन ।’

भिडियो केही दिनभित्रै सार्वजनिक गरिने निर्देशक थापाले बताए ।

कमेन्ट गर्नुहोस्