राजधानीमै ट्याक्सी चालकमाथि छुरा प्रहार, देब्रे आँखा फुट्यो

काठमाडौ‌, पुष ४ । राजधानीमै दुईजना लुटेराले एकजना ट्याक्सी चालकमाथि छुरा प्रहार गरी लुटपाट गरेका छन् । मंगलबार ललितपुरको दमकल नजिकैबाट विरामीको बहानामा अस्पताल लगिदिन भन्दै चढेका दुई लुटेरले बा१ज ६१५७ नम्बरको ट्याक्सीका चालक ४२ वर्षीय डम्बर खड्कामाथि छुरा हानेर लुटपाट गरेका हुन् ।

दमकल चोकबाट अस्पताल जाने भन्दै ट्याक्सी चढेका लागू औषध दुव्र्यसनी जस्ता देखिने दुई लुटेराले बालकुमारीको झोलुङ्गे पुल नजिक पुगेपछि चालकमाथि छुरा हानेका महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी शेखर खनालले जानकारी दिए । लुटेरा युवाले पछाडिको सिटबाट एक्कासी छुरा हान्दा चालक खड्काको देब्रे आँखामा गहिरो चोट लागेको छ ।

विरामी भएको भन्दै काठमाडौंको शंखमुल जाने बहानामा चढेका उनीहरुले बालकुमारी पुलबाट करिडोर हुँदै केही पर सुनसान स्थानमा पुगेपछि चालक खड्कामाथि पछाडिबाट धारिलो हतियारले हानेका थिए ।

एसपी खनालका अनुसार करिब २५ वर्षीय कालो वर्ण र ३५ वर्षीय गोरो वर्णका दारी पालेका व्यक्तिमध्ये एकले छुरा हानेर लुटपाट गरेको जानकारी चालकले बताएका छन् ।

कमेन्ट गर्नुहोस्