बेलायतबाट शिशुको उपचारका लागि आर्थिक सहयोग

म्याग्दी, पुस ५ ।

धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशुको उपचारका लागि बेलायतबाट रु एक लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजुका शिशुको उपचारका लागि हिलापोखरी घर भई हाल बेलायतमा रहेका दुर्गाबहादुर पुनको पहलमा रु एक लाख तीन हजार २३४ सहयोग प्राप्त भएको हो ।

पुनले बेलायतबाट पठाउनुभएको रकम गण्डकी प्रदेशका सांसद बिनोद केसी र पुनका छोरा खुम पुनले बुधबार अस्पतालमै पुगेर हस्तान्तरण गरे । यसअघि हिलापोखरीस्थित टोल सुधार समितिको पहलमा स्थानीयवासी, विभिन्न सङ्घ संस्था र व्यक्तिबाट रु एक लाख १५ हजार सहयोग जुटेको थियो ।

याे पनि पढ्नुस  नारच्याङमा जलविद्युत् आयोजनाका काम धमाधम

परियारले शल्यक्रियामार्फत मङ्सिर ११ गते बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरी जन्माएकीमा एक छोराको मृत्यु भइसकेको छ भने अन्य दुईको स्वास्थ्यमा सुधार आइरहेको छ ।

कमलाको स्वास्थ्य सामान्य रहे पनि शिशुको उपचारका लागि अर्थाभावका कारण समस्या भएको छ । छोराको ९०० र छोरीको तौल ८०० ग्राम छ । आठ वर्षको हुँदा बुबालाई गुमाएका राजुकी आमा पनि उनी नौ वर्षको हुँदा उनलाई छाडेर दोस्रो विवाह गरेर गएकीले वडा सदस्य नरकुमारी गुरुङले उनलाई कक्षा १२ सम्म पढाएका थिए ।

याे पनि पढ्नुस  ओमकुमारी शान्ति कोषलाई जापानबाट रु १२ लाख संकलन

तीन वर्षअघि कमलासँग विवाह गरेपछि आफ्नो घरमा बस्न थालेका राजुको पारिवारिक अवस्था कमजोर रहेको टोल सुधार समितिका अध्यक्ष राम्जी मल्लले बताए ।

मङ्गलाको मोबाइल एप्स

म्याग्दीको मङ्गला गाउँपालिकाले मोबाइल एप्स सेवा सञ्चालनमा ल्याएको छ । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लिकेशनमा गएर मङ्गला मुनिसिपालिटी प्रवेश गरे गाउँपालिकाको सबै कार्यक्रम हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत अमृता थापामगरले जानकारी दिए ।

याे पनि पढ्नुस  एकै घरका दुई बुहारी वैशाखदेखि सम्पर्कविहीन

एप्सबाट गाउँपालिकाको सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडाका विवरण, महत्वपूर्ण स्थानको जानकारी र आपतकालीन टेलिफोन नंको जानकारी पाउन सकिने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए ।

यसअघि रघुगङ्गा गाउँपालिकाले पनि मोबाइल एप्स सञ्चालनमा ल्याइसकेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा बेनी नगरपालिका, मालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाको पनि मोबाइल एप्स बनाउने तयारी भएको छ । रासस

कमेन्ट गर्नुहोस्