संसदीय समितिमा मन्त्री मगर, मेलम्ची ल्याएरै छाड्ने प्रतिबद्धता

काठमाडौं, पुस ५ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले  उपत्यकावासीले तोकिएको समयमा नै मेलम्चीको पानी पिउन पाउने प्रतिबद्धता दोहोऱ्याएकी छन् । निर्माणको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी ‘को-अपरेटिभ मुरातोरी सिमेस्ट्री (सिएमसी) टाट पल्एटिकाले भाग्ने दाउ खोजिरहेको समाचार आइरहँदा मन्त्री मगरको यस्तो प्रतिक्रिया आएको हो ।

बिहीबार बसेको अर्थसमितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले सिएमसी अथवा अन्य कम्पनीबाट नै भएपनि निमार्ण कार्य सम्पन्न गरी छिट्टै मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताइन ।  उनले निमार्णको जिम्मा लिएको सिएमसीले हाम्रो कारणले नभई उसको हेडक्वार्टरको समस्याका कारण नै टाट पल्टिएको प्रस्ट्याउँदै मेलम्ची आयोजनाको निमार्ण सम्पन्न गर्नका लागि सिएमसीसँग वार्ता पनि चलिरहेको बताइन ।

मन्त्री मगरका अनुसार इटालियन निमार्ण कम्पनी सिएमसी आर्थिक रुपले धरासायी भएको र इटालियन सरकारसँग नै काम गर्न नसक्ने जानकारी दिएको बताइन । मेलम्चीको आयोजना नेपालको राष्ट्रिय गौरवको आयोजना भएकोले यसको निमार्ण सम्पन्न गर्नु पहिलो प्राथमिकता भएको भन्दै समयमा नै निमार्ण सम्पन्न गर्ने गरी मन्त्रालय अघि बढ्ने बताइन । यसका लागि सिएमसीसँग पनि वार्ता चलिरहेको उनको भनाई छ । संभव भएसम्म सिएमसीसँग र नभए अन्य कम्पनीसँग मिलेर पनि मेलम्ची आयोजना छिटो सम्पन्न गरिने उनको भनाई छ ।

मन्त्री मगरले सिएमसीले ठेक्का सम्झौता तोडेर गएको अवस्थामा पनि नेपाललाई आर्थिक रुपमा नोक्सानी बेहोर्नु नपर्ने उनको भनाई छ । उनले कम्पनीको नाममा धरौटीमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रहेको ३ अर्बभन्दा बढी रकम जफत गरिएको हुनाले त्यसबाट पनि बाँकी काम सम्पन्न गर्न सकिने उनको भनाई छ ।

यता, सांसदहरुले भने टाट पल्टिएको अवस्थामा सिएमसीसँग पुन वार्ता गर्नुको औचित्यबारे प्रश्न उठाएका थिए । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मेलम्ची आयोजना आयोजना किन यसरी अल्मलिएको छ भन्दै प्रश्न गरेका थिए । उनले आयोजनाका कर्मचारी भाग्नुमा नेपाल सरकार अर्थात खानेपानीमन्त्रीप्रति पनि आशंका व्यक्त गरे ।

तोकिएकोकाम सम्पन्न गर्न निर्देशन अर्थसमितिले बहुप्रतिक्षित मेलम्ची आयोजना तोकिएको समयमा लागत नबढ्ने गरी निमार्ण सम्पन्न गर्न  खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।

मेलम्ची खानेपानी आयोजना सम्बन्धी समितिको दुई घण्टा भन्दा बढी समयसम्म भएको छलफलपछि सभापति कृष्णप्रसाद दाहालले यस्तो निर्देशन दिएका हुन् । आयोजना निमार्णको अन्तिम चरणमा पुगेको अवस्थामा निमार्णको कार्य गर्दै आएको इटलियन कम्पनी को–अपरेटिभ मुरातोरी सिमेस्ट्री (सिएमसी) वा अन्य कम्पनीमार्फत भएपनि तोकिएको मितिमा नै मेलम्चीको पानी काठमाडौं ल्याउनुपर्ने  निर्देशन दिइएको समिति सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्