अब समृद्धिको अभियान शुरु गरिन्छः अध्यक्ष प्रचण्ड

चितवन, पुष ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टीको अहिले बसिरहेको बैठकमा समृद्धिको लहर ल्याउन दुईमहिने अभियान शुरु गर्ने तयारीका विषयमा छलफल भएको बताएका छन् ।

शहीद स्मृति माध्यामिक विद्यालय पारसनगरको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले देशलाई समृद्ध बनाउनका लागि अभियानात्मकरुपमा जान जरुरी रहेको बताए ।

सामान्यरुपले गएर नहुने भन्दै प्रचण्डले भने, “हामी अहिले बसिराखेको पार्टीको बैठकमा दुईमहिने अभियान तुरुन्तै देशभरि, जनतालाई, पार्टीका साथीलाई र अन्य राजनीतिक दललाई पनि सँगसँगै समृद्धिको यात्रामा सहभागी गराउने विचार गर्दैछौँ ।”

विगतमा झैं आउँदा दिनमा पनि सबैको सहयोगको अपेक्षा पनि उनले गरे । विगतमा परिवर्तनका लागि मिलेर लडेको स्मरण गर्दै उनले समृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

पार्टीको बैठक महत्वपूर्णरुपमा चलिरहेको भन्दै उनले बाहिर थुप्रै तितामीठा गरी आए पनि बैठकभित्र सौहार्दपूर्ण र खुलेर छलफल भइरहेको बताए । उनले भने, “यो बैठकबाट उचित निष्कर्षसहित देशमा नयाँ अभियान लिएर हामी आउँदैछौँ ।”

सरकारले सामुदायिक विद्यालयको गुणस्तरवृद्धिका लागि काम गरिरहेको भन्दै उनले विद्यालयको शिक्षा बेरोजगार पैदा गर्ने शिक्षा नहोस् रोजगार पैदा गर्ने खालको शिक्षा होस् भनेर लागिरहेको बताए ।

अध्यक्ष प्रचण्डले थपे, “प्राविधिक र व्यावसायिक शिक्षालाई प्रथामिकता दिँदै जाने, सामान्य सैद्धान्तिक शिक्षाको मात्रा घटाउँदै लैजाने नीति लिएका छौँ ।”

सामुदायिक विद्यालय खस्किँदै जाने, निजी र व्यापारिक विद्यालय फस्टाउँदै जाने एउटा रोग जस्तो नेपालमा लागेको भन्दै उनले पछिल्ला वर्षमा सामुदायिक विद्यालय खरो प्रतिस्पर्धामा उत्रिएको बताए ।

आफू निर्वाचित क्षेत्र रहेको प्रसङ्ग कोट्याउँदै अध्यक्ष प्रचण्डले आउँदो चार वर्षभित्र चितवन जिल्लाका कुनै पनि बाटोलाई धुलोमैलो हुन नदिने बताए ।

आफूलाई चितवन केन्द्रित हुन्छ भन्ने पार्टीभित्र आरोप लाग्ने गरेको भन्दै उनले भरतपुर महानगरले नमूनायोग्य काम गरिरहेकाले आफूलाई पनि सजिलो परेको बताए ।

देशभरिले भरतपुर महानगरतिर आँखा लगाएर हेरेको भन्दै उनले जनताका पक्षमा निस्वार्थरुपमा काम भएको महानगरका रुपमा सिङ्गो देशले प्रेरणा लिएको बताए । रासस

कमेन्ट गर्नुहोस्