मन्त्री बाँस्कोटा भन्छन्, ‘कर्मचारीले आन्दोलन गर्नुको अर्थ छैन’

काठमाडौं, पुष ५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कर्मचारी समायोजन अध्यादेशका प्रावधानका विरुद्धमा कर्मचारीले आन्दोलन, धर्ना तथा जुलुसजस्ता कार्यक्रम गर्नुको औचित्य नरहेको बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्मचारी समायोजनामा सरकारले काखा र पाखा नगरेको स्पष्ट पार्दै कर्मचारीको गुनासो सम्बोधन गर्न गुनासो सुनुवाइ समिति गठन भएको जानकारी दिए ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनलगायत मन्त्रालयका प्रतिनिधि रहेका मन्त्री बाँस्कोटाले उल्लेख गर्दै भने, “कर्मचारीले अनुमानको भरमा सेवा, सुविधा यस्तो, त्यस्तो भनेर धर्ना, जुलुसमा उत्रिनुको कुनै अर्थ छैन ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घअन्तर्गत ४६ हजार, प्रदेशमा २२ हजार र स्थानीय निकायअन्तर्गत ५८ हजार कर्मचारी समायोजन हुनेछन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सङ्घ, प्रदेश र स्थानीय निकायका बीचमा सङ्घीयता कार्यान्वनका लागि सहजीकरण गर्न २९ बुँदे कार्ययोजना तयार भई कार्यान्वयन शुरु भएको जानकारी दिए। हालै सम्पन्न अन्तरप्रदेश बैठकले सो सङ्घीयता कार्यान्वयन सहजीकरण कार्ययोजना तयार पारेको थियो । उनले सङ्घीयतालाई बलियो बनाउन सरकारले प्राथमिकता दिएको बताए । रासस

कमेन्ट गर्नुहोस्