राष्ट्रपति पदको गरिमा उच्च छ, विवादमा ल्याउने काम गरिनु हुन्नः मन्त्री बाँस्कोटा

काठमाडौं, पुष ५ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिलाई मात्र उडान अवतरण गर्न सरकारले हेलिकप्टर खरीद गर्न लागेको नभई विशिष्ट व्यक्तित्व, आपतकालीन अवस्थाका लागि पनि रहेको बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राष्ट्रपति पदको गरिमा उच्च छ । यसलाई अनावश्यकरुपमा विवादमा ल्याउने काम कही कतैबाट गरिनु हुन्न ।

राष्ट्रपतिलाई मात्र उडान अवतरण गर्न सरकारले हेलिकप्टर खरीद गर्न लागेको होइन, यो त विशिष्ट व्यक्तित्व, आपतकालीन अवस्थाका लागि पनि हो ।”

मन्त्री बाँस्कोटाले सरकार नीतिगत तथा विधिगत सुधार गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गरे । “सरकार बनाउने र गिराउने खेलको अन्त्य भएको छ, राजनीतिक स्थायित्वका साथमा अब आर्थिक स्थायित्वको नयाँ युगको शुरुआत भएको छ ”, उनले भने ।

प्रवक्ता बाँस्कोटाले बहुचर्चित एवं बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम समयै सम्पन्न हुने दृढतासमेत व्यक्त गरे । उनले भने, “जनताले तिरेको करबाट उठेको राजश्व जनताको विकासमा सरकारले खर्च गर्छ, अनावश्यरुपमा कही कतै खर्च गर्दैन ।” सातवटै प्रदेशमा विपद् व्यवस्थापन केन्द्र स्थापना हुने जानकारी मन्त्री बाँस्कोटाले दिए ।

कमेन्ट गर्नुहोस्