साहित्यकार प्रेम शाहको वार्षिक पुण्यतीथिमा अभिनेत्री जल शाह यसरी भक्कानिन् !

साहित्यकार प्रेमा शाहको वार्षिक पुण्य तीथिको अवसरमा बिहीबार राजधानीमा सम्झना गरिएको छ ।

राजधानीस्थित होटल अन्नपुर्णमा उनकी छोरी तथा अभिनेत्री जल शाहले आयोजना गरेको कार्यक्रममा उनको सम्झना गरीएको हो । समारोहमा उनकी नातिनी कलश रिमाल, ज्वाई शरदकुमार रिमालको साथमा विभिन्न साहित्यकारहरुले उनको तस्विरमा माल्र्यापण गर्दै एक मिनेट मौन धारण गरेका थिए ।

आफ्नी आमाको सम्झनामा अभिनेत्री जल भावविह्वल हुन पुगेकी थिईन भने उपस्थित व्यक्तिहरुले पनि आँसु रोक्न सकेका थिएनन् । कार्यक्रमलाई सम्झने क्रममा जल भक्कानिएर एक मिनेट पनि बोल्न सकिनन् । स्ट्रङ हुन्छु भन्ठानेको थिएँ, सकिन उनले भनिन् ।

कार्यक्रममा प्रेमाको जीवनीमा आधारित एक अडीयो भिडियो प्रस्तुत गरीएको थियो । जसमा उनलाई नजिकबाट जान्ने विभिन्न व्यक्तित्वहरुले उनको बारेमा बोलेका थिए । प्राध्यापक डा.वासुदेव त्रिपाठीको अनुसार अकस्मात उदाएकी प्रेमा शाह त्यसबेलाकी एउटी सशक्त र अजर अमर साधक थिईन् । प्रेम र वासनालाई शालिन र शिष्ट किसिमले व्यक्त गर्थिन् । विद्रोही प्राज्ञ प्रेमा शाह नामक जीवनी समेत लेखेका साहित्यकार नरेन्द्रराज प्रसाईका अनुसार प्रेमा शाह नेपालमा जन्मन्ु जियोग्राफिकल मिस्टेक हो । बौद्धिकताकी धनी प्रेमा शाहलाई आफुले सेन्टिमेन्टल क्विन नामाकरण गरेका बताए ।

२००१ सालमा विरगंजको श्रीपुरमा जन्मेकी प्रेमा ‘आऊ मलाई सम्भोग गर’ कविता लेखेपछि सशक्तरुपमा नेपाली साहित्यमा उदाएकी थिईन भने एउटै सम्भोग नामक कथा लेखेपश्चात उनको चर्चा चुलिएको थियो । आफनो जीवनमा उनले धेरै समय शिक्षण पेसालाई अंगालेकी थिईन् । साहित्यकार काशीनाथ टमोटका अनुसार नेवारी साहित्यमा पनि उत्तिकै अब्बल थिईन् । उनले २०१७ सालमा प्रश्न चिन्ह नामक कथा लेखेर अन्तर कलेज नेपाल भाषा साहित्य सम्मेलनमा भाग लिँदा उनी पहिलो भएकी थिईन् । जबकी नेवारी साहित्यमा दख्खल भएका साहित्यकार मथुराकृष्ण सायमी दोस्रो भएका थिए । यसले मलाई निकै अचम्म लागेको थियो । साहित्यमा लागेर उनले आफ्नो फाईदाको मतलव गरेनन्, केवल आफुलाई मन लागेको कुरा भित्री हृदयदेखि नै लेख्ने गरेकी छन् । उनको शब्द चयन निकै राम्रो थियो। जुन शैली नेपालीमा बालकृष्ण समको मात्र छ उनले भने ।

साहित्यकार डा.महादेव अवस्थिका अनुसार प्रेमाले त्यसबेला मानिसको मनको कुण्ठाको रुपमा रहने यौनका कुुरालाई मर्यादितरुपमा साहित्यमा खुला रुपमा प्रस्तुत गर्थिन । यौनका कुरालाई कलात्मकढंगले व्यक्त गर्ने कुशल साहित्य श्रष्टाको रुपमा मैले उनलाई चिन्छु । उनका पछिल्ला रचनाहरुमा अस्तित्ववादी जीवन दृष्टि पाइन्छ । साहित्यकार इन्दिरा प्रसाईका अनुसार नाम हटाएर पाठकले पढ्दा लेखक चिन्ने विषेशता प्रेमाका साहित्यमा रहेका छन् ।

कथा संग्रह पहेलो गुलाब, विषायान्तर, लघु उपन्यास ममी, संयुक्त लेखन उपन्यास आकाश विभाजित छ, हिन्दी नाटक चित्रङदाको नेपाली अनुवाद, बालकथाहरु मन्टुकी बजैको कथाको पेटारो, जिंकी र जोकर, ईन्द्र धनु्ष, रंगीचंगी कथाहरु, राम्रो काम लेखेकी प्र्रेमाका बाल उपन्यासहरु मनु र भँगेरा, आनन्दको आविष्कार, बाल गिती संग्रह भाग १ र २ आदी उनको प्रकाशित कृती हुन् ।

निर्देशक तथा गीत्कार यादव खरेलका अनुसार प्रेमा शाहको जीवनको सपना भनेको आफ्नी छोरी तथा अभिनेत्री जल शाहको सफलता रहेको थियो । कुनै पनि महिला आमा बन्न सक्छ । तर, सबै आमा गार्जेन बन्न सक्दैन । तर, प्रेमा जलको आमा र गार्जेन दुवै हुनुहुन्थो । प्रेमाले बाल साहित्य पनि धेरै लेख्नुभयो तर यौन साहित्यमा मात्र फोकस गरियो ।

साहित्यकार डा ध्रुवचन्द्र गौतमका अनुसार नेपाली साहित्यमा प्रेमाको लेखनलाई आलोचना गर्नेहरु पनि प्रशस्त थिए । तर, मेरो दृष्टिमा उनले लेखेका यौन कथाहरु धेरै उच्च कोटीका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक कथाको इतिहास हेर्दा एक ठाउमा आएर प्रेमा शाहमा आएर अडिनैपर्छ ।

विद्रोही स्वभावकी प्रेमाको लेखनलाई त्यस समयमा उनकै परीवारले पनि बुझ्न नसकेको जलका मामा सुवर्ण श्रेत्रीले बताए । मरणोपरान्त उहाको बारेमा लेखहरु आउन थालेपछि मात्र मैले पनि पहेलो गुलाफ जस्ता कृतिहरु पढ्न थालेपछि उनी अनौठो किसिमको मान्छे नभएर हामी पोअबुझ किसिमको मान्छे रहेछौ भन्ने लाग्यो, उनले भने । साहित्यकार तथा संगीतकार हिरण्य भोजपुरेले प्रेमाले लेखेका गीत सुनाएका थिए ।

उनकी नातिनी कलश रिमालले भावविह्व हुँदै आफ्नी हजुरआमाले आफुलाई निकै माया गर्ने र आफू नेपाल आउँदा हजुरआमा अमेरिकामा भएको र आफु अमेरीकामा हुँदा नेपालमा भएको जस्तो लाग्ने बताईन् । मलाई उनको बारेमा किताब लेख्न मन छ । मैले एकपटक उनको पहेलो गुलाब कपी गरेर नीलो गुलाब लेख्न खोजेको पनि थिए । अन्तिम पटक हस्पिटलमा भेट्दा म तिम्रो काखमा मर्न चाहन्छु भनेकी थिइन् । आमालाई नदेखेको मात्र हो तर यही हुनुहुन्छ जस्तो लाग्छ । उनले यसो भनीरहेको भिडीयो हेर्दा सबैको आँखा आँसुले भरिएका थिए । एउटी अबोध बालिकाबाट आएका भावनाले हल आँशुमय हुन पुगेको थियो ।

कमेन्ट गर्नुहोस्