दरबार हत्याकाण्ड हुँदा पनि पोखरामैं थिए ज्ञानेन्द्र, यसपाली के पाक्दैछ खिचडी ?

अहिले हिन्दू धर्मको कुरा गर्नेहरुले भोली राजाको कुरा पनि नगर्लान भन्न सकिन्न

एभरेष्ट टिप्पणी । राप्रपा नेता कमल थापाले आज ट्विट गर्दै पूर्व राजा ज्ञानेन्द्रसँग पोखरामा भेट गरेको बताए ।

पार्टी कामको सिलसिलामा पोखरा गएको बेला नीजि भ्रमणमा पोखरा रहेका पूर्व राजा ज्ञानेन्द्रसँग भेट भएको उनले उल्लेख गरेका छन् ।
कमल थापाको ट्विट यतिमा मात्रै सीमित छैन ।

उनले शिष्टाचार भेटमा मुलुकको अवस्थाबारे छलफल भएको समेत उल्लेख गरेका छन् ।

र, भनेका छन– मुलुकको बिग्रिदो अवस्थाप्रति पूर्व राजा चिन्तित भएको पाएँ ।

कमल थापाको शिष्टाचार भेट र पूर्व राजाको चिन्ता ठीक त्यतिबेला भएको छ, जतिखेर केन्द्रमा गणतन्त्रका लागि चलेको लामो लडाईको एउटा सहयात्रीभित्र हिन्दू राज्यका पक्षमा बलियो जनमत देखा परेको छ ।

पार्टीले विगतमा गणतन्त्रका लागि रगत बगाएको बिर्सेर कांग्रेसभित्रको एउटा तप्काले नेपाललाई हिन्दू राज्य घोषणा गर्ने कुरा कांग्रेसको विधानमा नै उल्लेख गर्न दबाब दिएका छन् ।

मिडिया रिपोर्टहरुका अनुसार, आफ्नै इतिहासमा बञ्चरो हान्न खोज्ने यस्तो जमात कांग्रेसभित्र बलियो छ, मतदान भए जित्न समेत बेर नलगाउने गरी ।
र, यता केन्द्रमा धर्मका नाममा कांग्रेसको तप्काले राजनीतिक कोर्स उल्ट्याउन खोजेको बेला पूर्व राजा नीजि भ्रमणमा पोखरा रहेका छन् ।
पोखरामा ज्ञानेन्द्र पुग्दा उनका समर्थकहरुले भव्य र्याली निकालेका छन् । उनका पक्षमा नाराबाजी गरेका छन् ।

यो नाराबाजीभित्र केही नाराहरु नेपाललाई हिन्दू राज्य घोषणा गर्नुपर्ने पनि छ ।

हिन्दू राज्य र राजाको सम्बन्ध सैद्धान्तिकरुपमा केही नहोला, तर नेपाली परिस्थितिमा हिन्दू राज्य र राजा अन्यौनाश्रितरुपमा जोडिएका छन् ।
हिन्दू निरपेक्षतासँगै राजतन्त्र ढलेको अवस्थामा हिन्दु सापेक्षतासँगै राजतन्त्र ब्यूँताउने ठूलो तत्वहरु सक्रिय हुनु स्वभाविकै पनि हो ।

नेपाली कांग्रेसले यसबारेमा केही नबोलेपनि त्यो भित्र अहिले हिन्दू धर्मको कुरा गर्नेहरुले भोली राजाको कुरा पनि नगर्लान भन्न सकिन्न ।

केही दिन अघि मात्रै यिनै कमल थापाले हिन्दू धर्मको कुरा नेपाली कांग्रेसले विधानमा उल्लेख गरे कांग्रेससँग सहकार्य गर्न सकिने बताएका थिए ।
सहकार्य के का लागि ? यो त उनले स्पष्ट खोलेनन ।

तर, स्पष्ट छ, यो सहकार्य प्रतिगमनका लागि मात्रै हुनसक्छ । किनभने राजा या कमल थापाहरुसँग अग्रगमनका लागि सहकार्य हुने कुनै आधार कम्तीमा अब भने बाँकी छैन ।

विगतमा नेपाली काँग्रेसले राजा र कमल थापाहरुलाई छोडेर नै अग्रगामी संविधानका पक्षमा ठूलो भूमिका खेलेको कुराले यो थप पुष्टि हुन्छ ।

ज्ञानेन्द्रभित्र सत्ताको भोक मरेको छैन । कुनै बेला दरबार हत्याकाण्ड हुँदा पोखरामा नै रहेको ज्ञानेन्द्र अहिले पनि नीजि भ्रमणमा पोखरा जानु संयोग हुन सक्ला । तर, उनले जे जसरी इतिहासको रथलाई उल्ट्याउने सपना देखेका छन, त्यो भने पुरा हुने देखिन्न । यो कुरा नेपाली कांग्रेसभित्रकै कतिपय नेताहरुले महासमिति बैठकमा स्पष्ट राखेका पनि छन् ।

सरकारले लोकप्रियता कमाउन नसक्दा र सरकारको प्रचार संयन्त्र कमजोर हुँदा ज्ञानेन्द्र र धर्मको मुद्दा झन उचालिएको तर्क समेत कतिपयले गरेका छन् । संघीयता असफल हुँदा गणतन्त्रप्रति समेत वितृष्णा बढेको तर्क जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको छ । यद्यपी संघीयतालाई असफल पार्न कर्मचारीतन्त्र र अन्य शक्ति कसरी लागेका छन् भन्ने विषयमा भने केसीहरुले ध्यान दिएको पाइन्न ।

ज्ञानेन्द्र, कमल थापा या सशांकहरुको अहिलेको कसरतलाई ब्याकअप दिने काम दक्षिणका शक्तिहरुले नदिएको होला भन्न सकिन्न ।

यो अवस्थालाई चिर्न सरकार र सरकारको नेतृत्व लिईरहेको पार्टी तथा नेपाली कांग्रेस र अन्य समूहका अग्रगामीहरुले देशको समृद्धि र विकासका लागि नयाँ ढंगले सहकार्य गर्नुपर्ने अपरिहार्यता झन बढेको छ ।

यो अवस्थामा पोखरामा खिचडी पकाउन खोजिएपनि यो बीरबलको खिचडी जस्तो समेत हुने छैन ।

आवरण तस्वीरः जनआन्दोलनका बेला प्रहरी दमनको दृश्य, व्यापक दमनको बेला प्रदर्शनकारीका छुटेका चप्पल, तस्वीरः वेभम्यागजिनको वेभ संस्करणमा प्रकाशित आलेखबाट साभार

कमेन्ट गर्नुहोस्