दाङमा भएको बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

दाङ, पुष ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले दाङ–सल्यान सडक खण्ड अन्तर्गत तुल्सीपुर ३ मा भएको बस सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

एक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘सहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक गरी १६ जनाको मृत्यु भएको घटनाप्रति म र सिंगो पार्टी मर्माहत भएको छ ।’

साथै, अध्यक्ष प्रचण्डले उक्त बस दुर्घटनामा मृत्यु भएका विद्यार्थी र शिक्षकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

उनले दुर्घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दैै देशका विभिन्न स्थानहरुमा दिनदिनै हुने सवारी दुर्घटनाबाट भइरहेको जनधनका क्षति न्यूनिकरण गर्न सम्वन्धित सबैको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा आज बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो । भने,  ११ जना घाइते भएका छन् ।

घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको उक्त बस दुर्घटनामा परेको हो ।  शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर तुलसीपुरतर्फ फर्किदै थिए ।

कमेन्ट गर्नुहोस्