हवल्दार मृत्यु प्रकरण : प्रहरीले ७ महिनासम्म लिएन उजुरी, श्रीमतीले पनि गरिन वेवास्ता

दैलेख— सल्यानको शारदा नगरपालिका ५, सिराचौर जंगलमा गत जेठ २३ गते मृत फेला परेका प्रहरी हवल्दार रमेशकुमार थापाको परिवारले न्याय नपाएको गुनासो गरेको छ । इलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियामा कार्यरत थापा जेठ २० गते डयुटी सकेर ससुराली हिँडेका थिए ।

त्यसको तीन दिनपछि मृत फेला परेका उनको हत्या भएको र दोषीलाई प्रहरीले नै संरक्षण गरेको पीडित परिवारको आरोप छ ।

मृतकका बाबु भूपालबहादुर थापाले पत्रकार सम्मेलन गरी आफ्नो छोराको हत्या गरिएको र दोषीलाई पक्राउ गरी कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् । घटनाको सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्नुको साटो प्रहरीले उल्टै घटनालाई तोडमोड गरेको उनको आरोप छ । मृतक हवल्दारकी पत्नी यशोधरा रावल पनि इलाका प्रहरी कार्यालय, मैनापोखरमा महिला प्रहरी जवानमा कार्यरत थिइन् । ‘छोरा मरेको खबर न त बुहारीले दिइन्, न त जिप्रका सल्यानले दियो,’ थापाले भने, ‘छोरा मरेको खबर सल्यानमा कार्यरत दैलेख जिल्लावासी कर्मचारीहरूले दिए ।’

शवको प्रकृति हेर्दा दुर्घटना नभई वीभत्स तरिकाले हत्या गरिएको उनको दाबी छ । ‘छोराको शरीरभरि घाउ, चोट तथा निलडाम मात्रै थियो,’ थापाले भने, ‘तर प्रहरीले उजुरी दर्ता गर्नै मानेन ।’ उनका अनुसार जेठ २४ गते बिहान शवको मुचुल्का तयार गरी पोस्टमार्टममा लागि जिल्ला अस्पताल, सल्यान लगिएको थियो । ‘२४ गते राति ३ बजे छोराको शव दैलेख पुर्‍याइयो, हामीले २५ गते जिल्ला प्रहरी कार्यालय दैलेखको टोलीको सलामीसहित धर्मकर्मका आधारमा सतगत गर्‍यौ,’ उनले भने, ‘दु:खको कुरा पति मर्दासमेत बुहारीले समेत वास्ता गरिनन् ।’ उनले पतिको किरिया छाडेर बुहारी एक्कासि जिल्ला अस्पताल सल्यानमा देखा परेको जनाए ।

सतगत गरेकै दिन हवल्दार थापाको मानसिक सन्तुलन ठीक नभएको, छारे रोग भएको जस्ता भ्रामक समाचार प्रकाशन गर्न जिल्ला प्रहरी नै अग्रसर भएको परिवारको दाबी छ । घटनाबारे तत्कालीन जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख प्रेमशंकर चौधरीलाई सोध्न खोज्दा आफूहरूलाई अभद्र व्यवहार गरिएको र कार्यालयभित्र प्रवेश गर्न समेत रोक लगाएको परिवारको गुनासो छ । छोराको काजकिरिया सकेर असार ७ गते सल्यान प्रहरीलाई जाहेरी दिन गए पनि जाहेरी लिन नमानेको थापाले आरोप लगाए । ‘सल्यान प्रहरीले छोरा डेरा गरी बसेका ठाउँमा खानतलासी गर्न मैनापोखर बर्दिया जानु भनेपछि म मैनापोखर पुगेँ,’ उनले भने, ‘छोरा बसेको कोठामा खानतलासी गर्दा छोराले लगाएको सुन तथा अन्य जायजेथा कुनै पनि भेटिएन ।’

न्यायका लागि सल्यान प्रहरीमा चार पटकसम्म पुग्दा उल्टै हप्काउने र अभद्र व्यवहार गर्ने गरेको परिवारको गुनासो छ । पटकपटक जाहेरी दिन जाँदा पनि प्रहरीले जाहेरी बुझ्नै नमानेको पीडित परिवारले जनाएको छ । छोराले लगाएको कपडा, जुत्ता, झोला, मोबाइलसमेत पत्ता नलागेको कारण सोध्दा तत्कालीन प्रहरी प्रमुख भरत विकले आफूमाथि हातपात गरेको थापाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय, सल्यानले घटनाबारे सत्यतथ्य लुकाउन खोजेको पीडित परिवारको आरोप छ ।

पति–पत्नी एउटै कार्यालयमा कार्यरत हुँदा पनि पतिलाई कुनै जानकारी नदिई एक्कासि यशोधरा आफ्नो माइतीघर सल्यान गएको परिवारले जनाएको छ । ‘प्रहरी मारिँदा प्रहरीबाटै असहयोग भएको छ, घटनाको सक्कली प्रमाण नष्ट गरेर, नक्कली प्रमाण बनाई प्रहरी आफू बलियो हुन खोजिरहेको छ,’ थापाले भने, ‘न्यायका लागि प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसम्म पुगिसकेको छु, तर बेवास्ता भयो ।’

कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) महेशविक्रम शाहले घटनाबारे थप छानबिन गरिने जनाए । उनले जुनसुकै हालतमा हत्यारा पत्ता लाग्ने दाबी गरे । ‘प्रहरी भन्दैमा छोड्ने कुनै कानुनमा उल्लेख छैन,’ उनले भने, ‘यसबारे मातहतका निकायलाई निर्देशन दिई सत्यतथ्य पत्ता लगाइनेछ ।’

कान्तिपुर दैनिकबाट साभार

!

कमेन्ट गर्नुहोस्