पूर्व अधिराजकुमारीद्वारा सर्वोच्चमा रिट

काठमाडौँ, पुस ७ । पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले आफूले दाइजो पाएको सम्पत्ति नेपाल ट्रस्टका नाममा दर्ता गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माग गर्दै सर्वोच्चमै रिट दायर गरेकी छन् ।

उनले शुक्रबार वारेसमार्फत पुनरावलोकन निवेदन दर्ता गराएकी हुन् । दुई वर्षअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपक कार्की र सपना प्रधान मल्लको इजलासले प्रेरणालाई दाइजो दिइएको छाउनीस्थित १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्टको भएको फैसला गरेको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्रले छोरी प्रेरणाको विवाहमा आवाससहितको जग्गा दाइजो दिएका थिए जुन पूर्वराजा वीरेन्द्रको नाममा थियो । गणतन्त्र स्थापनापछि सरकारले वीरेन्द्र र उनको परिवारका नामको सम्पूर्ण घरजग्गा र सम्पत्ति ट्रस्टमा ल्याउने निर्णय गरेको थियो ।

तत्कालीन न्यायाधीश रामकुमार शाह र चोलेन्द्रशमशेर राणाको इजलासले दाइजो पाएकाले यो घरजग्गा प्रेरणाकै नाममा दर्ता गर्न सरकारका नाममा आदेश दिएको थियो । सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कार्कीसहितको तीन सदस्यीय इजलासले उक्त निर्णय उल्ट्याइदिएको हो । प्रेरणाले शुक्रबार दायर गरेको रिटमा उक्तफैसलाले आफू अन्यायमा परेको उल्लेख गर्दै पुनरावलोकनको माग गरेकी छन् ।

उनले आफ्नो मुद्दा संवैधानिक इजलासबाट फैसला हुनुपर्नेमा पूर्ण इजलासबाट गरिएकोमा आपत्ति जनाएकी छन् । ट्रस्टले प्रेरणालाई घर कम्पाउन्ड खाली गर्न ताकेता गरेपछि उनले सर्वोच्चबाट पुनरावलोकनको फैसला नभएसम्म घर खाली गर्न चालिएका सबै कदम रोक्न अन्तरिम आदेशसमेत माग गरेकी छन् । कान्तिपुरबाट

 

कमेन्ट गर्नुहोस्