गर्भवती महिलाले फाँसी लगाइन, झुण्डिएकै अवस्थामा बच्चा जन्मियो सकुशल

कटनी, मप्र (बिबिसी) । भारतको मध्य प्रदेशस्थित कटनी जिल्लामा एकजना महिलाले फाँसी लगाएपछि बच्चा जन्मेको घटना सार्वजनिक भएको छ ।

महिलाको मृत्यु भएपनि बच्चाको अवस्था राम्रै रहेको बताइन्छ ।

शुक्रबारका दिन शहरको कोतवाली खिरहनी चौकी क्षेत्रमा लक्ष्मी सिंह नाम गरेकी गर्भवती महिलाले अज्ञात कारणवश फाँसी लगाइन । र, फाँसीमा झुण्डिदै गर्दा उनले एउटा बच्चा जन्म दिइन ।

बच्चा आमाको प्लेसेन्टा (गर्भनली)बाट आमाको गर्भाशयसँग जोडिएको थियो । यो देखेर तत्कालै प्रहरी र अस्पतालमा खबर गरेपछि बच्चा बाँच्न सफल भएको हो ।

मृत महिलाबाट जन्मिएको बच्चालाई तत्कालै अस्पताल लगियो । चिकित्सकहरुले बच्चाको अवस्था गम्भीर देखेपछि तत्कालै आइसियूमा राखेपछि बच्चाको अवस्थामा सुधार भएको छ ।

इमरजन्सी एम्बुलेन्स सेवासँग जोडिएका डा. माखनलालका अनुसार, एकजना महिलाले फाँसी लगाएको र उसको बच्चा फसेको खबर पाएपछि उनीहरु त्यहाँ पुगेका थिए । त्यहाँ पुग्दा बच्चाको डेलिभरी भइसकेको र बच्चा प्लेसेन्टामा झुण्डिएको अवस्थामा भेटिएको उनले जनाए ।

तत्काल बच्चालाई आमाबाट अलग गरेको उनले जानकारी थिए ।

सिभिल अस्पताल कटनीका सिभिल सर्जन डा. यशवन्त बर्मा भन्छन, “महिला नवौं महिनाको गर्भावस्थामा थिइन । बच्चा दुई किलो जति थियो । महिला फाँसीको डोरी झुण्डिएपछि बच्चा गुरुत्वका कारण तल खस्न पुग्यो ।”

डा. बर्माले थप भने, “हामी जिउँदो अवस्थामा भने धेरै कुरा रोकेर राख्न सक्छौं तर मृत्युपछि त्यसमा हाम्रो नियन्त्रण हुँदैन । त्यसैले फाँसीमा चढेपछि बच्चा तल आउन पुग्यो ।”

महिलाका श्रीमान सन्तोष सिंहले परिवारमा सबै कुरा ठीकठाक चलिरहेको बताए ।

उनले भने, “सधैंंजसो हाम्रो परिवार खाना खाएर सुतेको थियो । म बिहान ६ बजे उठदा उसलाई देखिनँ ।” बिहान अरु बच्चा सुतिरहेको र श्रीमतीलाई नदेख्दा उनी गोठमा गएका थिए । गोठमा फाँसीको फन्दा झुण्डिएको अवस्थामा श्रीमतीलाई देखे पछि उनले चिच्च्याएर छिमेकी बोलाएका थिए । त्यसपछि प्रहरी र अस्पतालमा खबर गरिएको थियो ।

सन्तोषका दुई छोरा र दुई छोरी छन । महिलाका भाई अजमेर सिंहले पनि आत्महत्याको कारणबारे अनभिज्ञता जनाए । कटनी प्रहरीले अहिले के कति कारणले आत्महत्या गरियो भन्ने कुरा अनुसन्धान गरिरहेको बताएको छ ।

कमेन्ट गर्नुहोस्