स्थायी कमिटि बैठकः आज अध्यक्षद्वय प्रचण्ड र ओलीको विशेष सम्बोधन

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटीको तेस्रो बैठकमा आज अध्यक्षद्वयले सम्बोधन गर्ने कार्यक्रम छ ।

सरकार र पार्टी एकीकरण टुंग्याउने मुख्य एजेण्डामा शुरु भएको बैठकमा स्थायी कमिटिका सबै सदस्यले बोलिसकेका छन् ।

छलफललाई व्यवस्थित बनाउन बैठकको शुरुमैं अध्यक्षद्वयका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय उल्लेख छन् ।

अध्यक्षको प्रतिवेदनसँगै अर्का नेता वामदेव गौतमले समेत पूरक प्रस्ताव पेश गरेका थिए ।

आजको बैठकमा सम्बोधन गर्न बाँकी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको मन्तव्यपछि अध्यक्षहरुले प्रतिवेदनमा प्राप्त सुझाव र टिप्पणी तथा आलोचनाको जवाफ दिनेछन ।

नेकपा स्थायी कमिटि बैठकमा तीनवटा मुख्य विचार व्यक्त भएका छन् ।

(क) पार्टी एकता ऐतिहासिकरुपमा सही कदम थियो र यसलाई अझै सुदृढ गरे जानुपर्छ । गुट, उपगुटको अन्त्य गरेर आन्तरिक जनवादलाई मजबूत बनाउनुपर्छ ।
(ख) पार्टीभित्र विवाद सिर्जना गराउन र बदनाम गराउन बिरोधी सक्रिय छन् । उनीहरुको षडयन्त्रप्रति सचेत बन्दै अघि बढनुपर्छ ।
(ग) सरकारले जन अपेक्षा अनुरुप काम गर्न सकेको छैन । पार्टी निर्माणसँगै सरकारको कामकारवाहीको समेत समीक्षा गरेर जनताले प्रत्यक्ष अनुभूति हुने गरी सरकार सञ्चालन गर्नुपर्छ ।

तर यी तीनवटै विषय त्यति सजिलो र सहज भने छैनन । आन्तरिक जनवादको कुरा समूहगतरुपमा बाँडिएका स्थायी समिति सदस्यहरुले नै उठाएको अवस्थामा आन्तरिक जनवाद र संगठनात्मक कार्यशैली सुधार गर्न भावी विधि र प्रक्रिया के हुने भन्ने विषयमा ठोस छलफल गर्नुपर्ने कतिपयले बताएका छन् ।

यसैगरी सरकारले राम्रा कामको प्रचार गर्न नसक्नु, आलोचनालाई चिर्न नसक्नु र कार्यशैली जनउत्तरदायी नभएको विषयमा समेत के कसरी अघि बढने भन्ने विषयमा स्थायी कमिटिको बैठकले छिनोफानो गर्नु बाँकी छ ।
आजको बैठकमा सम्भवतः अध्यक्षद्वयले यी र यस्तै बहसका विषयमा आफ्ना विचार राख्ने बताइन्छ । यसका साथै केही उल्लेख्य र महत्वपूर्ण अभियानमूलक कार्यक्रम सञ्चालन गर्ने विषय समेत आजको बैठकमा प्रस्तुत हुने देखिन्छ ।

पार्टीलाई तलसम्म मजबूत ढंगले एकीकरण गर्ने, त्यसको कार्यविधि, मापदण्ड र समयसीमा तोक्ने, पार्टी र कार्यकर्तालाई उर्जाशील बनाउन संगठनात्मक कार्यक्रमहरु तय गर्ने र सरकारका काम कारवाहीका बारेमा समीक्षा संयन्त्र तथा सुधारको मार्गचित्र अघि सार्ने जस्ता कामहरु गर्नैपर्ने टिप्पणी चलिरहेको छ ।

आज अध्यक्षको सम्बोधनपछि राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिइनेछ ।

स्थायी कमिटिको बैठक आज नै सकिन्छ या निरन्तरता हुन्छ भन्ने विषयमा केही सार्वजनिक भएको छैन ।

कमेन्ट गर्नुहोस्