कांग्रेसभित्र अब कुनै पनि नेताको मनोमानी चल्दैनः नेता पौडेल

दमौली, पुष ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्र अब कसैको मनोमानी नचल्ने बताएका छन् ।

गृहजिल्ला तनहुँको दमौलीमा आइतबार सञ्चारकर्मीसँग वरिष्ठ नेता पौडेलले भने, ‘नेपाली कांग्रेसभित्र अब कुनै नेताको मनोमानी चल्न सक्दैन, विधानले पार्टीभित्र पूर्ण लोकतान्त्रिकको बाटोमा लैजान सहयोग पुर्याउने छ र समग्र पार्टीकै लोकतान्त्रिकरणमा टेवा दिनेछ ।’

साथै, उनले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पुर्याएको बताए । नेता पौडेलले महासमिति बैठकले पार्टीभित्रको कमजोरीलाई चिरफार गरी एकताको बाटोमा हिँडाउन सहयोग पुर्याएको बताए ।

महासमिति बैठकबाट पारित विधान विश्वकै राजनीतिक दलको विधानभन्दा उत्कृष्ट बनेको दावी गर्दै पौडेलले कांग्रेसको संरचना नमूना बनेको बताए । उनले राजनीतिक पार्टीमा तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको विधान काङ्ग्रेस पार्टीभित्रको आत्मविश्वासको प्रतीक भएको बताए ।

लोकतन्त्रको लागि लडेको नेपाली कांग्रेस अब आफू पनि लोकतान्त्रिक संस्कारमा अघि बढ्दै देशलाई लोकतान्त्रिक बाटोमा हिँडाउन लागिपर्ने नेता पौडेलले बताए ।

विगतमा पार्टी कृपावाद र नातावादमा चल्ने गरेको आरोप लगाउँदै उनले अब पार्टीभित्र क्षमता र योगदान भएका व्यक्तिले पार्टी सञ्चालन गर्ने बताए । ‘निगाह र कृपाको आधारमा अगाडि बढ्ने प्रवृत्ति अब अन्त्य भएको छ’ उनले भने ।

वरिष्ठ नेता पौडेलले महासमिति बैठकले पास गरेको विधानले सबै वर्गलाई समेटेको उल्लेख गर्दै भने, “यो महासमिति बैठक गौरवपूर्ण उपलब्धिका साथ आइतबार दिउँसो सम्पन्न हुँदैछ ।”

वरिष्ठ नेता पौडेलले पार्टीलाई धर्मको विवादमा फसाउन नहुने भन्दै राजनीतिलाई धर्मसँग जोड्न नहुने टिप्पणी गरे । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबै धर्मलाई समान व्यवहार हुनुपर्ने उनको भनाई थियो । उनले भने “नेपाली कांग्रेस सबै जनताको प्रतिनिधि हो, एउटा पक्षलाई मात्रै समातेर पार्टी चल्न सक्दैन । नेपाली कांग्रेस धर्मको विवादमा धेरै फस्नु हुँदैन ।”

कमेन्ट गर्नुहोस्