रवि ओडको ताजा अन्तर्वार्ताः भन्छन्,‘थपियो जिम्मेवारी, अबको यात्रा देश र जनताका लागि’

काठमाडौं, पुष ८ । नेपाल आइडल सिजन–२ का विजेता हुन रवि ओड । उपाधि जितेसँगै चारैतिर चर्चा छ उनको । हँसिलो मुहार र सोझो मुद्रामा प्रस्तुत हुने रवि ओडको पारिवारिक पृष्ठभूमिले पनि बढी चर्चा बटुल्यो यो अवधिमा ।

अहिले रवि ओडलाई कतिपयले विद्रोही आवाज भनेका छन् भने कतिपयले झुप्रोबाट उदाएको सूर्य । रवि आफै भने यो उपाधिलाई सबैको जीत बताउँछन् । उपाधि उचाल्दा उनले यो जीत सबैको जीत समेत बताए ।

अब के छ त रविको योजना ? के सोच्छन् उनी सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरुका बारेमा ? अब पुरस्कारको राशीसँगै उनको आर्थिक हैसियत पनि उँभो लागेको बेला के छन् उनका भविष्यका सपनाहरु ? यिनै विषयको सेरोफेरोमा रहेर एभरेष्ट दैनिकका लागि लोकेश धामीले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।

नेपाल आइडल जितेपछि पहिला र अहिलेको रवि ओडमा के फरक पाउनु भयो ?
म आइडलमा आउनुअघि सामान्य अवस्थामा थिए । खासै कसैले चिन्दैनथे पनि । तर अहिले फरक छ । अहिले संसारले चिन्न थालेको छ । पहिलो म आफ्नै ठाउँमा सीमित थिए । तर अब नेपाल र नेपाल बाहिर रहेका नेपालीमाझ चिनिएको छु । यो सबै देन मेरा भगवान्रुपी समर्थक र आइडल आयोजकको कारणले हो । सबैप्रति म कृतज्ञ छु । र, यसले मलाई थप जिम्मेवारीबोध समेत गराएको छ ।

फाइनलमा आइपुगेपछि नेपाल आइडल हुन्छु भन्ने विश्वास कत्तिको थियो ?

मलाई पहिलो नै हुन्छु भन्ने लागेको थियो । यद्यपी मसँगैका साथी बिक्रम, सुमित र अष्मिता सबै उत्कृष्ट थिए । हामी सबैलाई समर्थकहरुले मन पराएका थिए । हामीमध्ये जो पनि हुन सक्छ भन्ने पनि लाग्थ्यो मनमा । तर मेरो शुरुआतदेखिको यात्रा व्यवधानरहित तरिकाले अघि बढेकोले म नै जित्छु भन्ने विश्वास चाहिँ थियो ।

आइडलमा पहिलो भएको घोषणा भएपछि सबैभन्दा पहिला कसलाई सम्झिनुभयो ?

त्यो क्षण मेरो जीवनको सबैभन्दा ठूलो खुसीको क्षण थियो । खुसीको क्षणमा हामीले आफूले सबैभन्दा बढी माया गर्ने मान्छेकै खोजी गर्छौं । तर बाबा मसँग हुनुहुन्थेन । उहाँ भारतमा हुनुहुन्छ, मैले उपाधि जितेपछि सबैभन्दा पहिला बुबालाई सम्झिएँ । बुवा यता मेरो छेऊमा नभएपनि भारतमा नै आइडल हेरि रहनु भएको रहेछ ।

मैले यता उपाधि जित्दा बुवासँग कुरा गर्न मन लाग्यो । पछि फोनमा कुरा गरे । बुवाले निकै भावुक भएर कुरा गर्नुभयो । उहाँको स्वरबाटै उहाँको आँखामा खुसीका आँसु बगिरहेका छन् भन्ने थाहा हुन्थ्यो ।

बुबासँग कुरा हुँदा के भन्नुभयो ?

बुबाको त्यो भावुक आवाज सुनेर म पनि निकै भावुक भने । उहाँले हाम्रो मात्र होइन, तिमी देशको ‘गहना’ हौ भन्नुभयो । बुबाको कुरा सुन्दा निकै भावकु र खुसी भए । उहाँले मलाई यहाँसम्म पुर्याउन निकै कष्ट गर्नु भएको छ ।

बुबाको अनुहारमा खुसी ल्याउने दिन बल्ल आए जस्तो लागेको छ । म उहाँलाई आफ्नै देशमा ल्याउन विगतदेखि नै संघर्ष गर्दै आएको थियो । संघर्षको फल प्राप्त भएको छ । हुनत यो पहिलो खुड्किलो हो यस्ता हजारौं खुड्किला पार गर्नुछ ।

समर्थकले तपाइँलाई यतिधेरै किन रुचाए जस्तो लाग्छ ?

सायद म भित्रको क्षमता हेरेर मन पराउनु भएर होला । म नेपाल आइडलमा विशेष गरी आम जिब्रोमा झुण्डिने लोक गीत र भाकालाई प्राथमिकता दिदैं प्रस्तुत भए । समर्थकको रोजाई पनि त्यहीँ थियो ।

उहाँहरुले मनको भावना सहजै बुझेर मलाई रुचाएको हुनुपर्छ । तर मैले आइडलमा अरु गीत पनि गाएँ । मेरो अधिकांश प्रस्तुति स्रोता दर्शकले अत्यधिक रुचाउनुभयो ।

उहाँहरुको रुचिको कारण मेरो क्षमता र उहाँहरुको भावनाअनुरुप प्रस्तुत हुन सकेर नै होला । स्रोतादर्शकको रुचिअनुसार प्रस्तुत हुनसक्नु नै ठूलो कुरा हो । सायद त्यो मैले निभाउन सकेर नै होला म उहाँहरुको रोजाइमा पर्न सकेको ।

तपाइको पारिवारिक पृष्ठभूमिले पनि भोट पाउन सजिलो भयो भन्नेहरु पनि छन्, के भन्नुहुन्छ ?

केही हदसम्म पारिवारिक पृष्ठभूमि पनि जोडिएको होला । त्यो कुरालाई नकार्न सक्दिन । तर त्यही पृष्ठभूमिकै कारण आइडल जित्यो भन्नु चाहिँ अलि नमिल्दो कुरा भयो । म भित्र क्षमता नहुन्थ्यो भने पृष्ठभूमिले मात्रै यहाँसम्म पुग्दैनथे होला ।

मुख्य कुरा मेरो क्षमता हेरेर नै समर्थकले यो स्थानसम्म पुर्याउनु भएको होला । अर्को कुरा, म अब एक क्षेत्रका मात्र सिमीत रहिन । अब म सबै क्षेत्रको हुँ ।

विदेश होस् या स्वदेश जहाँ गए पनि म अब नेपालको ‘गहना’ हो । तर, जुन ठाउँबाट यो स्थान हासिल गर्न सकियो त्यो स्थानमा बढ्ता माया त जोकोहीलाई पनि त लाग्छ ।

म पनि एक पछाडि परेको क्षेत्रबाट यो स्थान हासिल गर्न सके, निकै खुसी छु । अब खुसीसँगै जिम्मेवारी पनि बढेको छ । जिम्मेवारीलाई पूरा गर्न अझैं धेरै साथको अपेक्षा गरेको छु ।

पहिलो पटक यति धेरै पुरस्कार पाउनु भएको छ । के गर्नुहुन्छ, सामाजिक काममा लगाउने कि व्यक्तिगत खर्च ?

यो पुरस्कार दर्शकस्रोताको माया हो । पक्कै पनि यो मायाको सदूपयोग म राम्रै काममा लगाउने छु । उहाँहरुले प्रदान गरेको यो माया सुरक्षित राख्ने छु । पुरस्कार भन्दा पनि म त माया भन्न रुचाउँछु, यसको म सक्दो सदुपयोग गर्ने छु ।

अबका दिन कसरी बढाउनुहुनेछ, केछ योजना ?

आइडलको ‘टाइटल’ जितेसँगै जिम्मेवारी पनि झन बढेको हसुस गरेको छु । पक्कै पनि आगामी दिन सांगीतिक क्षेत्रमै व्यतित हुने छन् । स्रोतादर्शकले खाजेका गीतहरु ल्याउने छु । अब हेरौं योजना के कति पूरा हुन्छन् ।

तपाई विभेदमा परेका वर्गबाट प्रतिनिधित्व गर्नुहुन्छ, त्यो समुदायले पनि तपाइँको जीतलाई उत्सवका रुपमा मनाएको छ, अब विशुद्ध माया प्रितिका गीत गाउनुहुन्छ कि परिर्वतनका लागि केही गर्नुहुन्छ ?

पक्कै पनि मेरा केही सपना छन् । ती सपना भनेका यथार्थ बोकेका गीत स्रोतादर्शक माझ ल्याउने हुन । जीवन संघर्षको क्रममा म धेरै धेरै ठाउँ घुमेको छु । आम मानिसले भोगिरहेका पीडा मैले आफैले पनि भोगेको छु ।

अहिले पनि हाम्रो समाज निकै दुःख, अभाव, विभेद कायम छ । अब संगीतमार्फत् त्यस्ता विभेद कम गर्न म सक्रिय रहने छु । साथै, माया र प्रेम पनि जीवनको एउटा विशेष पक्ष हो । यसलाई समेत समेटेर स्रोता दर्शकमाझ ल्याउने छु ।

अन्त्यमा समर्थकलाई के भन्नुहुन्छ ?

उहाँहरुलाई धन्यवाद दिने मसँग कुननै शब्द नै छैन । उहाँहरु मेरा भगवान् हुन् । यहाँहरुको यो साथले नै आज यो स्थानसम्म हासिल गर्न सकेको छु । सबैमा धेरै माया र सम्झना । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सम्पूर्णलाई धेरै धन्यवाद । अब अझैं धेरै साथको खाँचो छ । आशा गरेको छु दर्शक–स्रोताबाट त्यो माया पाउने छु ।

कमेन्ट गर्नुहोस्