सरकारी वकिलको विशेष जिम्मेवारी छः राष्ट्रपति भण्डारी

काठमाडौं, पुष ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले फौजदारी न्याय प्रशासनलाई सवल र प्रभावकारी कार्यान्वयन गर्न सरकारी वकिलको विशेष जिम्मेवारी भएको बताएकी छन् ।

महान्यायाधिवक्ता कार्यालयले आइतबार आयोजना गरेको ‘सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दै उनले फौजदारी अभियोजनको मुख्य जिम्मेवारी पाएको सरकारी वकिलले प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, “अभियोजनको मुख्य जिम्मेवारी राज्यले महान्यायाधिवक्ताको कार्यालयलाई दिएको छ, अपराध अनुसन्धान गर्दा प्रभावकारी तरिकाले गर्नुपर्छ, कसुरदारलाई सजाय र पीडितलाई न्याय दिने तरिकाले गर्नुपर्छ ।”

सूचना र प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा पनि जटिलता भएको उल्लेख गर्दै उनले व्यावसायिक, प्रभावकारी, नागरिकलाई विश्वासमा लिएर वकिलले काम गर्नुपर्नेमा जोड दिइन् ।

याे पनि पढ्नुस  मुलकको शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः राष्ट्रपति

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा अपराध हुन नदिने र अपराध भएमा प्रभावकारी तरिकाले अनुसन्धान गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताए । उनले फौजदारी न्याय राम्रोसँग दिनमा लागि प्रहरी, अदालत, पीडित र अपराधीबीच रहेर प्रश्न नउठ्ने गरी व्यावसायिक तरिकाले काम गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताका लागि अलि गहन तरिकाले काम गर्नुपर्ने, गरीब धनी मात्र नभई र राष्ट्रिय हितको संरक्षण हुने गरी काम गर्न आग्रह गरे।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सरकारी वकिलको कार्यशैलीमा आशातित सुधार भएको र अपराध अनुसन्धान गर्दा व्यावसायिक तथा वस्तुनिष्ठ ढङ्गले गर्नुपर्ने बताए । उनले सरकारी वकिलले मुद्दामा बहस पैरवी गर्दा अनुसन्धान गरी बहस गर्ने परिपार्टीको पनि विकास हुँदै गएको आफूले महसुस गरेको र आगामी दिनमा पनि अझ वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारी यूरोप भ्रमण जाँदै

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशभरका कानून व्यवसायीले नेपालको संविधान र मुलुकी संहितालाई एकरुपतामा बुझ्न सकेमा काममा सफलता हासिल हुने बताए ।

महान्यायाधिवक्ता अग्नि खरेलले सरकारी वकिलको संस्थागत विकास तथा आगामी दिनका लागि सम्मेलनले रणनीतिक योजना तय गर्ने जानकारी दिए ।

नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीले नेपालले अन्तर्राष्ट्रिय सन्धि÷सम्झौतामा हस्ताक्षर गरेको कुरालाई ध्यान दिँदै इन्काउटरका नाममा व्यक्तिको हत्या गर्न नहुने र दोषी देखिए कानूनबमोजिम कारवाही गर्नुपर्नेमा जोड दिए ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारीले उचालिन् विश्वकपको ट्रफी

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकारी वकिलको प्रभावकारी अनुसन्धानबिना प्रहरीले राम्ररी काम गर्न नसक्ने उल्लेख गर्दै पीडित मैत्री अनुसन्धान पद्धति जरुरी भएको उल्लेख गरे ।

सो अवसरमा सर्वोत्कृष्ट सरकारी वकिललाई सम्मान गरिएको छ । राष्ट्रपति भण्डारीले ‘एटर्नी अफ द इयर’ का रुपमा नायब महान्यायाधिवक्ता किरण पौडेललाई मेडल र पुरस्कारद्वारा सम्मान गर्नुभयो । तीनदिनसम्म चल्ने सम्मेलनमा देशभरबाट ३०० सरकारी वकिलको उपस्थिति रहेको छ । रासस

कमेन्ट गर्नुहोस्