प्रधानमन्त्री ओलीले भने, ‘शन्त नेता भट्टराई जनताप्रति समर्पित हुनुहुन्थ्यो’

काठमाडौं, पुष ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको हितमा आफू डटेर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘शन्त नेता कृष्णप्रसाद भट्टराईको ९५औं जन्मजयन्ती’ का अवसरमा आइतबार गोदावरीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “देश र जनताको हितमा सदैव तत्पर भएर लाग्ने उद्देश्यका साथ सरकारले विभिन्न योजना बनाएर तदनुरुप काम गरिरहेको छ ।”

सन्त नेता भट्टराईले निःस्वार्थ भावले देश र जनताको हितमा सदैव लाग्ने पाठ सिकाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सत्यको पक्षमा स्वर्गीय भट्टराई सधैं अडिग रहेको, देश र जनताप्रति समर्पित उनले १४ वर्ष जेलजीवन बिताएको बताए ।

देशको अर्थतन्त्रको विकास तथा आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अग्रसर तुल्याउने वर्तमान सरकारका लक्ष्य र उद्देश्यबाट आफू विचलित नहुने स्पष्ट गर्दै उनले लगानी जुटाउन आगामी मार्चको अन्तिम साता काठमाडौंमा लगानीसम्बन्धी सम्मेलन हुन लागेको जानकारी दिए ।

गत वर्षको पाँच प्रतिशतको देशको आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुगेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रप्रति इमान्दार भएर समाजका सबै वर्गबाट काम भएमा आर्थिक क्षेत्रमा राष्ट्रले फड्को मार्ने उनको अभिव्यक्ति थियो ।

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शन्त नेता भट्टराई बहुआयामिक व्यक्तित्वका धनी भएको भन्दै विसं २०४६ को आन्दोलनको नेतृत्व र संविधान निर्माणमा शन्त नेता भट्टराईको अविस्मरणीय योगदान रहेको स्मरण गरे ।

देउवाले उनलाई सम्झँदै भने, “जेलमा रहँदा भट्टराईले हामीलाई धर्म र दर्शनका बारेमा अध्ययन गर्न सिकाउनुभएको थियो । आज त्यसैलाई अनुशरण गरेर हामी अघि बढिरहेका छौ ।,”

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले शन्त नेता भट्टराई इमान र निष्ठाको प्रतीक रहेको भन्दै उहाँले राजनीतिक जीवनमा कहिल्यै पनि छलकपट र बेइमान नगरेको दृष्टान्त प्रस्तुत गरे । रासस

कमेन्ट गर्नुहोस्