फेसबूक पोस्टका कारण एक वर्ष जेल हालिएका पत्रकारको कथा

गत नोभेम्बर २७ तारिखमा करिब ६ जना सादा पोशाकका प्रहरी केही मोटर चढेर म्यानमार (बर्मा) सँग सीमा जोडिएको पूर्वोत्तर भारतको मणिपुर राज्यको केबल न्यूज नेटवर्कमा कार्यरत एक पत्रकारको दुईतले घरमा आइपुगे।

ती प्रहरीले ३९ वर्षीय किशोरचन्द्र वाङ्ग्खेमलाई भने नगरका प्रहरी प्रमुखले उनीसँग केही कुरा गर्न चाहन्छन्।”केही पनि हुँदैन, कुनै चिन्ता नगर्नू,” वाङ्ग्खेमकी श्रीमती रञ्जिता एलङ्ग्बमले त्यतिबेला प्रहरीले उनीहरूलाई भनेको स्मरण गर्दै भनिन्।

वाङ्ग्खेम त्यतिबेला नुहाएर आफ्नी श्रीमती र दुई छोरीहरूसँग दिउसोको खाना खाने तयारी गर्दै थिए। प्रहरीले उनलाई आफ्ना वकिलसँग पनि कुरा गर्न दिएनन् र पाँच मिनेटभित्र उनलाई लिएर गए।

आफ्नो श्रीमान्‌लाई प्रहरीले मोटरमा हालेपछि एलाङ्ग्बाम र उनका देवरले अर्को मोटरमा पछि पछि आए। प्रहरी चौकीमा वाङ्ग्खेमलाई प्रहरीले पाँच घण्टासम्म सोधपुछ गर्‍यो। पछि उनलाई प्रदेशको राजधानी इम्फाल बाहिरको एक कारागारमा लगिएको जानकारी प्रहरीले दियो।

“म स्तब्ध भएँ”
उनले भनिन्, “म स्तब्ध भएँ। शुरूमा हामीलाई भेट्न नमानेका प्रहरी अधिकारीले मेरो श्रीमान्‌लाई थुनिएको र उनको लागि न्यानो कपडा र दोलाईँ ल्याइदिन भने। भोलिपल्ट पत्रिका पढेपछि मात्र हामीले उनलाई के कारणले थुनिएको हो भनेर थाहा पायौँ।”

वाङ्ग्खेमको अपराध यस्तो थियो: उनले नोभेम्बर १९ तारिखमा भारतीय जनता पार्टी बीजेपी नेतृत्वको स्थानीय सरकारको आलोचना गरिएका चारवटा भिडिओ आफ्नो फेसबुक पेजमा पोस्ट गरेका अर्थात् राखेका थिए। उनले मणिपुरका मुख्यमन्त्रीलाई प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको संघीय सरकारको “कठपुतली”को संज्ञा दिएका थिए।

उनले एक पोस्टमा लेखेका थिए, “धोका नदेऊ। मणिपुरका ‘स्वतन्त्रता सङ्ग्राम’का लडाकूहरूलाई नबिर्सनू।”

प्रहरी निरीक्षक के बबीले आफ्नो प्रतिवेदनमा चाहिँ वाङ्ग्खेमले “सरकारविरुद्ध घृणा, द्वेष फैलाउँने र वितृष्णा जगाउने प्रयत्न गरेको” उल्लेख गरेका छन्। उनको त्यो कार्य “संविधानविपरीत र माझी औँला देखाउँदै आक्रामक शब्दले भरिएको…” उल्लेख गरेका छन्।

फेसबुक पोस्टका कारण प्रहरीले वाङ्ग्खेमलाई समातेको त्यो पहिलो घटना थिएन। बीजेपीलाई बुद्धु र जोकर पार्टी लेखेपछि उनी गत अगस्ट महिनामा पनि पक्राउ परेका थिए। त्यसपछि फेरि उनी नोभेम्बर २० मा सरकारको आलोचना गर्दै केही भिडिओ राखेपछि प्रहरीको फन्दामा परेका थिए।

कडा कानूनको सहारा

छ दिनसम्म प्रहरी हिरासतमा राखिएपछि उनलाई जिल्ला म्याजिस्ट्रेटकहाँ लगियो। तर न्यायाधीशले उनले कुनै “देशद्रोही” पोस्ट नराखेको र “सार्वजनिक पदधारीको सार्वजनिक क्रियाकलापलाई सडकमा प्रयोग हुने भाषामा राखेको” ठहर गर्दै उनलाई थुनामुक्त गर्ने आदेश दिए।

तर प्रहरीले उनलाई छोडेन। उनीविरुद्ध नयाँ थुनापुर्जी थमाउँदै भोलिपल्टै फैरि पक्राउ गर्‍यो। यसपटक उनलाई ३८ वर्ष पुरानो र निकै कडा मानिने राष्ट्रिय सुरक्षा कानुनको बर्खिलाप कृत्य गरेको अभियोग लगाएको छ। बक तथा अभिव्यक्ति स्वतन्त्रता वा अन्य किसिमको विद्रोहलाई नियन्त्रण गर्न त्यो कानूनको प्रयोग गर्ने गरिएको छ।

त्यो कानून अनुसार राज्यको सुरक्षा वा सार्वजनिक सदाचारमा आँच पुर्‍याउन सक्ने जोकोहीलाई कुनै अभियोग वा अदालती प्रक्रिया विना नै एक वर्षसम्म थुनामा राख्न सकिन्छ। वाङ्ग्खेमको फेसबुक पोस्टहरूले कसरी सार्वजनिक सदाचार र राज्यको सुरक्षामा खलल पुर्‍याउन गयो त्यो प्रस्ट भएको छैन।

त्यसो त मणिपुरमा विगत ४० वर्षदेखि जातीय द्वन्द्वहरू, अग्राधिकार वा स्वतन्त्रताका नाममा विभिन्न प्रकारका विद्रोहहरू हुँदै आएका छन्। तर वाङ्ग्खेमलाई थुनामुक्त गर्ने आदेश दिने क्रममा न्यायाधीशले प्रस्ट रूपमा उनले “शान्ति खलबल्याउने काम नगरेको” लेखेकै छन्।

त्यो कानून सुरक्षा फौजका सदस्यहरूले मानव अधिकार हनन गरेको भन्दै आवाज उठाउने मानव अधिकारकर्मीहरूविरुद्ध पनि सक्रिय भइसकेको छ। त्यही कानूको आडमा बीजेपी नेतृत्वमा रहेको उत्तर प्रदेश राज्यमा गत वर्ष १६० जना मुस्लिम पुरुषहरूलाई पक्राउ गरिएको थियो। त्यो कानूनका आलोचकहरूले मानव अधिकार हनन गर्न र विभेद गर्न त्यो कानून सहयोगी बनेको टिप्पणी गर्ने गरेका छन्।

‘बाबा कता हराउनुभयो?’
मणिपुरका पत्रकार वाङ्ग्खेम सामाजिक सञ्जालमा लेखे वा पोस्ट् गरेपछि निशाना बनाइएका पहिलो पत्रकार होइनन्। रिपोर्टर्स् विदआउट बोर्डर नामको संस्थाको पछिल्लो सूचकाङ्कमा भारत विश्व प्रेस स्वतन्त्रता इन्डेक्स्‌को १३८औँ स्थानमा परेको छ। हालै दिल्लीस्थित एक प्रतिरक्षाविद् र लेखक पनि पक्राउ परेका थिए। पाँचवटा व्यङ्गात्मक ट्वीट लेखेको अभियोगमा अविजित आएर-मित्र ४४ दिन थुनिएका थिए।

“यो सबै सरकारी पक्षबाट भइरहेको शक्तिको दुरुपयोग मात्र हो र यो बक र अभिव्यक्ति स्वतन्त्रताविरुद्धको आक्रमण हो, ” वाङ्ग्खेमका वकिल चोङ्ग्थाम भिक्टरले भने। वाङ्ग्खेमकी श्रीमती एलङ्ग्बम भन्छिन् उनले थुनामा राखिएका आफ्ना श्रीमान्‌लाई दुई पटक भेटिसकेकी छन्।

“उनी निकै बहादुर र आत्मविश्वास र भरीपूर्ण बन्दैछन्। उनी मलाई सबैकुरा ठिक भइहाल्छ भन्दै सम्झाउन कोसिस गर्छन्। तर हामी चिन्तित छौँ। हामी एकदमै धेरै चिन्तित छौँ। मेरी जेठी छोरी सोधिरहन्छिन् ‘बाबा कता हराउनुभयो?'”

सौतिक विश्वास
भारत सम्वाददाता, बीबीसी न्यूज

कमेन्ट गर्नुहोस्