सडक बनेपछि खच्चडको ठाउँमा गाडी

तेह्रथुम, पुस ९ ।

तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको टुटे देउराली भएर तीनजुरे, चौकी, मङ्गलबारे, गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्मको क्षेत्रमा केही वर्ष अघिसम्म स्थानीय बासिन्दाबीच चौंरीलाई भारी बोकाउने प्रतिस्पर्धा चल्थ्यो । यो मार्गमा जसले धेरै चौंरी पालेर भारी बोकाउने व्यवसाय गर्छ, ऊ ठूलो व्यवसायी गनिन्थ्यो ।

वसन्तपुर, टुटे देउराली, चौकी, मङ्गलबारे, गुफा, साँघु हुँदै दोभानसम्मको मार्गमा धेरै व्यवसायीहरुले चौंरी र खच्चडलाई भारी बोकाएर प्रशस्त कमाउँदै आएका थिए तर, अहिले अवस्था फेरिएको छ । माथिल्लो पहाडी र तल्लो हिमाली क्षेत्रमा चौंरी र खच्चडलाई भारी बोकाएर हिँडाउने वसन्तपुर गुफा हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्गमा यतिबेला सडकको डोब मात्रै तयार भएको छैन, सवारीका साधनहरुसमेत आवतजावत गर्न थालेका छन् ।

पर्यटकीय यी क्षेत्रका डाँडाकाँडामा सडक निर्माणसँगै सवारी साधनले खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु ढुवानी गरिदिएका छन् । यसैकारण चौंरी र खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आएकहरूले पेशा परिवर्तन गर्नुपर्यो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गममा रहेको यो तीनजुरे मिल्के जलजले क्षेत्र गुराँसको राजधानीको रुपमा चर्चित छ । यी क्षेत्रमा सडक पुगेपछि चौंरीलाई भारी बोकाएर जीविकोपार्जन र आयआर्जन गर्दै आएका धेरैको पुस्तौनी पेशा फेरिएको गुफापोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक हिमा खनालले बताए ।

धेरैजसोले चौंरी र खच्चड पनि बिक्री गरिसकेका छन् । पहिले यो मार्गमा भरियाले खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु बोकेर माथिल्लो क्षेत्रमा पुर्याउँथे । पछि यो काम चौंरी र खच्चडले गर्न थाले । भरियाको तुलनामा चौंरी र खच्चडले धेरै सामान बोक्ने भएकाले धेरै व्यवसायी यतातिर आकर्षित थिए तर, त्यो पनि अब रहेन सडकको सुविधा थपिएपछि ।

यही मार्ग भएर सडक निर्माण भएपछि भने सयौं चौंरी र खच्चड व्यवसायी एकैसाथ यो पेशाबाटै विस्थापित भएको गुफा बजारका होटल व्यवसायी हरि खनालले बताए  । शुरुमा माथिल्लो क्षेत्रका भोटे समुदायले मात्र अपनाएको चौंरीलाई भारी बोकाउने व्यवसायमा पछिल्लो समय अन्य जाति र समुदायका मानिससमेत संलग्न भएका थिए ।

यो मार्गमा चौंरी र खच्चडलाई भारी बोकाउने व्यवसाय गर्दै आएका छिरिङ लामा अहिले यो व्यवसाय छाडेर निर्माण व्यवसायमा लागेका छन् । एक दशकअघिसम्म उनी यो मार्गमा ३० वटाभन्दा बढी चौंरी र खच्चडलाई वसन्तपुरबाट सामान बोकाएर ताप्लेजुङका विभिन्न ग्रामीण क्षेत्र र बजारसम्म पुर्याउने काम गर्ने गर्दथे । चौंरी धपाउने मार्ग भएर मोटर बाटो निर्माण भएपछि आफूहरूले बाध्य भएर पेशा नै परिवर्तन गर्नुपरेको लामाले बताए ।

त्यस्तै, गुफापोखरीमा ५० भन्दा बढी चौंरी र खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आउनुभएका ग्याबु शेर्पाले वसन्तपुर हँुदै निर्माण भइरहेको मोटर बाटो घरका आँगनसम्मै आइपुगेपछि सबै चौंरी र खच्चड बिक्री गरेर ल्यान्डरोभर गाडी किनेका छन् । पुर्खाले गर्दैआएको चौंरीलाई भारी बोकाउने पेशा सडकले खोसिदिएपछि बाध्य भएर अर्को पेशामा लागेको शेर्पा बताउँछन् ।

यही मार्गमा चौंरी र खच्चड किनेर भारी बोकाउने व्यवसाय गर्दै आउनुभएका पाँच पोखरीका डम्बर बुढाथोकी, धु्रब खड्का, हर्क राईलगायत धेरै व्यवसायीहरू पनि फरक पेशा र व्यवसायमा लागेका छन् । टुटे देउरालीदेखि तीनजुरे, चौकी, मंगलबारे, श्रीमाने, भालुखोप, लामपोखरी, गुफाबजार हुँदै दोभानसम्मको चौंरी हिँड्ने सडकमा अहिले सानाठूला सवारी गुड्छन् । यो मार्गको मंगलबारेमा व्यापार गर्दै आएका राम उप्रेती सडक निर्माणसँगै दैनिकी चलाउन सहज भएको बताउँछन्।

अहिले सुनसरीको धरानदेखि सिधै टिएमजे क्षेत्रसम्म दैनिक बस सेवा उपलब्ध छ । घुम्न जानेहरु बस चढेरै टिएमजे पुगिरहेका छन् । धरानदेखि कोशी राजमार्ग भएर तेह्रथुमको वसन्तपुर पुगेपछि निर्माणाधीन मदन भण्डारी राजमार्गबाट ताप्लेजुङको साँघुसम्म दैनिक बस सेवा उपलब्ध रहेको व्यवसायी कासाङ शेर्पाले बताए । उनले भने– “बसमा यात्रु खचाखच हुन्छन् । त्यसमध्ये आन्तरिक पर्यटक नै धेरै हुन्छन् ।” दैनिक यातायात सेवा उपलब्ध भएपछि टिएमजे क्षेत्रका बासिन्दालाई समेत सुविस्ता भएको छ ।

दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि आवातजावत र बिरामी पर्दा अस्पताल पुग्न सहज हुन थालेको गुफाबजारका धार्के शेर्पाले बताए । “पहिले बिरामी पर्दा अस्पताल पुग्न नपाई मर्नुपथ्र्यो, त्यसमध्ये धेरै प्रसूति पीडाले मर्थे,” चौकीबजारका उदयकुमार तामाङले भने– “अहिले कमसेकम त्यो कहालिलाग्दो अवस्था हटेको छ ।”

अहिले दैनिक जसो टिएमजे क्षेत्रका डाँडाकाँडामा पर्यटक आइरहेका चौकीबजारका यज्ञ कार्की बताउँछन् । गुफापोखरी र यहाँको सुन्दरतामा रम्न हरेक साताजसो तेह्रथुम, धनकुटा, संखुवासभा र ताप्लेजुङका सर्वसाधारण पुग्ने गरेका छन् ।

निर्माणाधीन यो सडकलाई सरकारले मदन भण्डारी लोकमार्गको रुपमा नामकरण गरी प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । दुई वर्षभित्र सडकलाई स्तरोन्नति गरी बाह्रैमास सवारी सञ्चालन योग्य बनाउन पहल भइरहेको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताए । सडकमा सवारी चल्न थालेपछि तेह्रथुमको लालीगुराँस नगरपालिका, संखुवासभाको मादी नगरपालिका, धर्मदेवी नगरपालिका र चैनपुर नगरपालिका तथा ताप्लेजुङको मैयाखोला गाउँपालिकाका बासिन्दालाई दैनिकी चलाउन सहज भएको छ ।

गाउँबाट पूर्वी तराईको धरानसम्म पुग्न सहज भएको छ । सडकका कारण दैनिक आवतजावतसँगै बिरामी पर्दा समयमै अस्पताल पुग्न सहज भएको चौकीबजारका व्यवसायी उदयकुमार तामाङले बताए । तामाङका अनुसार सडक निर्माण भएपछि धेरै व्यवसायीहरू चौंरी र खच्चड बिक्री गरेर अन्य पेशा व्यवसायमा लागेका छन् ।

सडकले यहाँका ग्रामीण बजारहरुमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य सस्तिएको छ । यहाँ आउने पर्यटकलाई समेत आवतजावतमा सहज भएको छ । तीनजुरे मिल्के जलजले क्षेत्रको मुख्य गन्तव्यको रुपमा गुफापोखरी क्षेत्रसम्म पुग्न आन्तरिक तथा बाह्य पर्यटकले बस चढेरै टिएमजे घुमेर फिर्न पाएका छन् । रासस

कमेन्ट गर्नुहोस्