अब प्रत्येक पाइलामा होसियारीका साथ काम गर्छु– रवि ओड

काठमाडौं, पुष ९ । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले आइडल बनेपछि आफ्नो अनुभव व्यक्त गरेका छन् । उनले भने्, ‘जब ग्रान्ड फिनालेको रिजल्ट आउन सुरु भयो। अत्यन्तै डर लागेको थियो।

चौथो हुनेको नाम उच्चारण हुनासाथ म अझै बाँचेको छु है भन्ने लाग्यो। तेस्रो प्रतियोगीमा सुमितको नाम सुन्दा म प्रथम नभए पनि दोस्रो पक्कै भएँ भन्ने लाग्यो। टाइटल विजेतामा आफ्नो नाम उच्चारण भएपछि म केही बोल्नै सकिनँ। शब्दविहीन भएँ म। म एकछिन सपनाको संसारमा हराएँ।’

नेपाल आइडल–२ का टाइटल विजेता रवि आफ्नो आइडल अनुभव सुनाउँदै थिए। अलिकति उत्सुकता, अलिकति खुसी र अलिकति डर मिसिएको उनको अनुहारमा अनगिन्ती सपना झल्किरहेको देखिन्थ्यो।

विजेता बनेपछिको अनुभव कस्तो छ ? उनी भन्छन्, ‘नेपाल आइडलले मेरो परिचय नै बदलियो। यो जित मेरो मात्र होइन, मलाई माया गर्ने तपाईं सम्पूर्णको हो’, उनी थप्छन्, ‘अत्यन्तै खुसी लागेको छ।

नेपाल आइडलको विजेताको भार थाम्न अत्यन्तै गाह्रो छ, टाइटलको आफ्नै गरिमा छ। निकै सचेत, मेहनती र अझै लगनशील हुन जरुरी छ। प्रत्येक पाइलामा होसियारीका साथ काम गर्नु पर्नेछ। म यसको जिम्मेवारी पूरा गर्ने भरपुर कोसिस गर्छु।’

अडिसनमा आउँदा उत्कृष्टमा पुग्न सक्छु होला भन्नेसमेत उनलाई विश्वास थिएन। नेपाल आइडलको मञ्च स्वर्ग जस्तै घर सम्झने ओडले यो घरले अनमोल परिचय दिएको बताउँछन्।

निकै कडा मेहनत र संघर्षका साथमा हरेक नेपालीको मायाले मात्र जित सम्भव भएको उनले बताए। उनले आफ्नो भागमा परेको गीतको प्रस्तुति दिनुअघि सयौं पटक सुन्ने र गीत गाउने र घण्टौं रियाज गरिरहने बताए। अन्नपूर्ण पोस्ट्बाट

कमेन्ट गर्नुहोस्