पान र गुट्खा नियन्त्रण गर्न मात्रै अस्पतालमा कर्मचारी नियुक्त

राजविराज– पान र गुट्खा खाएर जथाभाबी थुक्ने प्रवृत्ति तराईका जिल्लामा नौलो विषय होइन। यो प्रवृत्तिका कारण यहाँका अधिकांश जिल्लाका सरकारी कार्यालय सबैभन्दा बढी प्रभावित छन्। पान र गुट्खा खाएर जथाभावी थुक्नाले कार्यालयहरू फोहर र दुर्गन्धित मात्र छैनन्, कार्यालयका भित्ता र भर्‍याङका कुना फोहरसमेत देखिन्छन्।

एकातिर फोहोर हुने समस्या अर्कोतिर मानव स्वास्थ्यमा त्यसले पार्ने असर। यसलाई नियन्त्रण गर्न अहिले तराईमा विभिन्न कार्यक्रम चल्न सुरु भएको छ।

‘सेवाग्राही मात्र होइन, कर्मचारीसमेत भित्ता थुक्नेमा पारङ्ग छन,’ सप्तकोसी नगरपालिका १, फत्तेपुरका कुमार बस्नेतले भने।

पान र गुट्खाका कारण फोहर बढ्न थालेपछि केही कार्यालयका भित्ता र भर्‍याङका कुनामा भगवानको फोटो टाँस्न थालिएको छ। तर, त्यसले समेत समस्या समाधान हुन सकेको छैन। ‘अघिल्लो दिन टाँसेको फोटो भोलिपल्ट हुँदैन’ बस्नेतले गुनासो गरे।

पान र गुट्खा नियन्त्रण गर्न अस्पतालमा कर्मचारी नियुक्त

मानव स्वास्थ्मा असर गर्ने यस्ता कुरा नियन्त्रणका लागि र फोहोर तथा दुर्गन्ध बढेपछि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालले पान र गुट्खा नियन्त्रण गर्न २ जना कर्मचारी नै नियुक्त गर्नु परेको छ। विकास समितिले तलब उपलब्ध गराउने गरी राजविराज नगरपालिका ११, फर्सैठका रामनारायण साह र अमित रायमाझीले गत मंसिर १० गतेदेखि अस्पतालमा नियुक्ति पाएका छन्।

‘अन्य कार्यालयमा झैं भगवानको फोटो टाँस्ने, सम्बन्धित व्यक्तिलाई सम्झाउने, अस्पतालका विभिन्न ठाउँमा सूचना टाँस्ने लगायतका सबै उपाय अपनाउँदा पनि समस्या समाधान भएन। अन्तिम विकल्पका रुपमा कर्मचारी नियुक्ति गर्नुपर्यो,’ मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले भने, ‘पान र गुट्खा नियन्त्रण गर्न कर्मचारी भर्ना गर्नु सामान्य अवस्था होइन,’ दास भन्छन्, ‘अर्को विकल्प नभएपछि यही विकल्प रोज्यौँ।’

अस्पतालको इन्डोरमा प्रवेश गर्ने सबैको मुख चेक गरेर मात्र प्रवेश दिने गरिएको छ। पान वा गुट्खा भए मुख सफा गरेर मात्र प्रवेश दिइने दासले बताए।

गेटमा पाले राख्न थालेपछि अस्पतालका भित्ता र भर्‍याङका कुना सफा हुन थालेको दास बताउँछन्।

-स्वास्थ्यखबरबाट

कमेन्ट गर्नुहोस्