मेयर दाहालको अर्को घोषणाः बिपी शान्तिनगर वनलाई आकर्षक पार्कका रुपमा विकास गरिने

चितवन, पुष १० । जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजिकै रहेको बिपी शान्तिनगर वनलाई भरतपुर महानगरपालिकाले आकर्षक पार्कका रुपमा विकास गर्ने भएको छ ।

नारायणी नदीको बीचमा टापुका रुपमा रहेको नगरवन ११२ बिघा क्षेत्रफलमा फैलिएको छ । सिसौ, टिक, खयर, बाँस, बेद, सिमल, इपिलइपिलको रुख र झाडीले ढाकेको टापुको बीचमा बिपीको शालिक छ भने सँगै तीन टहरा रहेका छन् । शालिक जीर्ण बनेको छ । टहरा प्रयोगविहीन छन् । जताततै झाडीले ढाकिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सो ठाउँलाई आकर्षक पार्कका रुपमा विकास गर्न लागिएको बताइन् । हाल अत्यावश्यक कामका लागि रु ४० लाख विनियोजन गरेर काम थालेको र राष्ट्रिय गौरवको आयोजनाका रुपमा नगरवनलाई राखेर काम गर्ने सोच बनाएको उनले बताइन् । “गुरुयोजना तयार गरी सङ्घीय सरकारसँग बजेट माग गरेर देशकै महत्वपूर्ण पार्कका रुपमा विकास गर्ने योजना छ,” दाहालले भनिन् ।

विश्वका ठूला शहरमा पर्यटकलाई घुमाउनका लागि बनाइने पार्क जस्तै विभिन्न गतिविधि गर्न मिल्ने गरी उद्यान निर्माण गर्ने महानगरको लक्ष्य छ । सो ठाउँ जिल्ला वनअन्तर्गत पर्दछ ।

पहिलो चरणमा सो क्षेत्रको स्वामित्व ग्रहण गरी गुरुयोजना निर्माण गरेर काम अगाडि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका–३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित हाल विनियोजित बजेटबाट चार वनभोज स्थल, फुटपाथ निर्माण, वृक्षरोपण, बिपीको शालिकको मर्मत र रङरोगन, शालिक आसपास बगैँचा निर्माण, विद्युत्को व्यवस्था, शौचालय तथा पानीको व्यवस्था गरिँदैछ ।

सोही ठाउँमा बालबालिकाका लागि पार्क तथा सुरक्षाको व्यवस्थासमेत मिलाइँदै छ । सो क्षेत्रमा वन्यजन्तुबाट जोगिनका लागि विद्युतीय तारबारसमेत गर्ने योजना छ । सीमित ठाउँमा तारबार गरिन्छ भने अन्यत्र क्षेत्रमा जनावरका लागि उपयुक्त हुने गरी छाडिनेछ । नारायणीको भङ्गालोमाथि बनाइएको झोलुङ्गे पुल तरेर नगरवन जानुपर्ने हुन्छ ।

भङ्गालोको पानीमा जल क्रिडा गर्न मिल्ने गरी व्यवस्थापन गर्ने योजना बनाइएको पण्डितले बताए । झोलुङ्गे पुलको छेउमा आकर्षक रेष्टुरेण्ट सञ्चालन गर्ने योजना छ ।

यहाँ हाल एकसिङ्गे गैँडा, बाघ, मृग, चित्तललगायतका जनावर र चराचुरुङ्गी देख्न पाइन्छ । नारायणी नदीको मूल प्रवाह र भङ्गालाको बीचमा नगरवन छ ।

नगरवन संरक्षण समितिका पूर्वअध्यक्ष वामदेव खनालले सो क्षेत्रमा २०१८ देखि जङ्गल बन्दै गएको बताए । विसं २०३९ मा भरतपुर नगरका तत्कालीन प्रधानपञ्च मुक्तिलाल चुकेले बोटे हटाएर वृक्षरोपणको थालनी गरी पार्कका रुपमा विकास गरेका हुन् । यहाँ हरेक वर्ष बिपीको स्मृतिमा वृक्षरोपण गरिँदै आएको छ ।

वनको व्यवस्थापन भने खासै हुन सकेको थिएन । सो ठाउँमा चुकेकै पहलमा बिपीको शालिक निर्माण गरिएको हो । शालिकको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अनावरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्