इसाई धर्मावलम्बीहरुलाई ‘क्रिसमस डे’को अवसरमा उपराष्ट्रपति पुनद्वारा शुभकामना व्यक्त

काठमाडौं, पुस १० ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ्ग’ले ईसाई धर्मावलम्बीहरुको महान् पर्व ‘क्रिसमस डे’को शुभ अवसरमा शुभकामना दिएका छन् ।

‘ईसाई धर्मावलम्बीहरुको महान् पर्व ‘क्रिसमस डे’को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र हो ।

लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धी हुन् । हाम्रो संविधानले सबै प्रकारका धर्म संस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण, सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ । तर, कसैलाई करकाप वा प्रलोभनमा पारी धर्म परिवर्तन गर्न गराउन भने पाइँदैन ।

हाम्रो विविधतायुक्त धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरुले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिंदै आएका छन् । यस पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएका छन् ।

‘क्रिसमस डे’ले सिंगो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ् बनाउँदै प्रगति पथमा अघि बढ्न हामी सबैलाई ऊर्जा एवम् उमङ्ग प्रदान गरोस् भनी कामना गरेका छन् ।

कमेन्ट गर्नुहोस्