धनगढी विमानस्थलमा दिउँसोको हवाइ उडान बन्द

धनगढी, पुस १० ।

धावनमार्ग मर्मतका लागि मंगलबारदेखि पुस १७ गतेसम्म धनगढी विमानस्थलमा दिउँसोको हवाई उडान तथा अवतरण बन्द गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको धनगढी शाखाका प्रमुख तेजबहादुर बुढथापाले धावन मार्ग मर्मत गर्नुपर्ने भएकाले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द रहने बताए ।

याे पनि पढ्नुस  धनगढी उप–महानगरले वैशाख २६ गतेबाट वडा भेला संचालन गर्ने

धावन मार्गको करीब २५० मिटर लामो भागमा चिरा परेको र केही भाग धस्सिएकाले मर्मत गर्नुपरेको उनले जानकारी दिए । साँझ ६ बजेपछि भने निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ–धनगढी–काठमाडौँ उडान गर्ने जनाइएको छ ।

नेपाल वायुसेवा निगमले हप्तामा तीन दिन काठमाडौँ–धनगढीको उडान भर्दै आएको थियो । यस्तै निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ–धनगढीसम्म दैनिक दुई र सौर्य एयरलायन्सले पनि काठमाडौँ–धनगढीसम्म दैनिक दुई उडान भर्दै आएको थियो ।

याे पनि पढ्नुस  नाम र राजधानीको लफडा, हरेकलाई चाहियो आफ्नै जिल्लामा

कम ‘भिजिविलिटी’ भएको अवस्थामा पनि उडान भर्न सक्ने बुद्ध एयरले मर्मतसम्भारका समयमा पनि साँझ हवाइ सेवा दिन लागेको जनाइएको छ ।

दैनिक झण्डै ६०० यात्रु यो विमानस्थलबाट काठमाडौँ धनगढी आवागमन गर्दै आएका छन् । लामो धावनमार्ग भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिकोे दोस्रो धनगढी विमानस्थल स्तरोन्नति भइरहेको हो । रासस

कमेन्ट गर्नुहोस्