‘जीरो’ ले हीरो बन्न सकेनन् शाहरुख, एउटा अर्को असफलताको खतरा !

काठमाडौं, पुस १० । बलिउडका किङ भनेर चिनिने शाहरुख खानको क्यारियर ग्राफ उकालो लाग्ने कुनै छाँट देखिइरहेको छैन । यस वर्ष उनको क्यारियरकै सर्वाधिक ठुलो बजेटको फिल्म रिलिज भएको छ- जीरो । यस फिल्मको बजेट दुई सय करोड भारु रहेको छ भने यसको ट्रेलरमा देखिएको भ्यूहरूको संख्या हेर्दा फिल्म ब्लकबस्टर हुने अपेक्षा गरिएको थियो ।

यस फिल्मको ट्रेलरलाई सामाजिक संजालमा सबैभन्दा चाँडो सय मिलियन भ्यू पाउने भारतीय फिल्म ट्रेलरका रूपमा प्रचार गरिएको थियो । साथै भारतभरि ४ हजार ३ सय ८० स्क्रीनमा र देशबाहिर एक हजार ५ सय ५० गरेर संसारभरि ५ हजार ९ सय ६५ स्क्रीनमा रिलिज भएको यस चलचित्रको पहिलो दिनकै कमाई ३० करोड माथि जाने र सप्ताहान्तभित्र सय करोडको आँकडा छुने विश्वास गरिएको थियो तर यसले पहिलो दिनमा २०.२४ करोड र सप्ताहान्तभित्र ५९.०७ करोडमै सन्तोष गर्नु परेको छ । यसको पहिलो सोमवारको कमाई पनि लगभग १० करोड रहेको छ र फिल्मको अन्तिम आशा क्रिसमस र नयाँ वर्षको विदा रहेको छ ।

पछिल्ला वर्षहरूमा शाहरुख खानका चलचित्रहरूले सन्तोषजनक प्रदर्शन गर्नसकिरहेका छैनन् । पछिल्लो वर्ष प्रदर्शित जब ह्यारी मेट सजलले प्रदर्शन अवधिभरि जम्मा ६४ करोड कमाएको थियो जीरोले उक्त फिल्मलाई उछिने पनि यो शाहरुखको क्यारियरको लागि सन्तोषजनक प्रदर्शन भने होइन ।

बलिउडका अर्का दुई खानहरू आमिर खान र सलमान खानले उहिल्यै ३०० करोड कमाउने फिल्म दिइसकेको भए पनि शाहरुखका फिल्महरूमा सबै भन्दा बढी कमाई गर्ने फिल्मका रूपमा २०१२ मा प्रदर्शित चेन्नई एक्सप्रेस रहेको छ जसले २१२ करोड कमाएको थियो । त्यसपछि उनका फिल्महरूले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेका छैनन् ।

याे पनि पढ्नुस  सलमानपछि शाहरुखलाई पनि धम्की, सुरक्षा व्यवस्था कडा

किन कमजोर देखियो जीरो ?

जीरो कमजोर देखिनुमा धेरै कारणहरूलाई लिन सकिन्छ । यसमा केही कारणहरूबारे यहाँ चर्चा गरिएको छ:

दर्शकहरूमा फेरिँदो स्वाद

हुन त यस वर्ष बलिउडमा प्रदर्शित भएका फिल्महरूले गरेको कमाई हेर्दा अगिल्ला वर्षहरूका तुलनामा दर्शकहरू निकै सजग भएको देखिन्छ । सामान्यतया खानहरू भनेपछि दर्शकहरू सिनेमा हलतिर ओइरिने अगिल्ला वर्षको प्रवृत्ति यस पटक देखिएन ।

समग्रमा भन्दा यस वर्ष बलिउडका दर्शकहरूले राम्रा चलचित्रलाई माया गरे भने खराब चलचित्रलाई बेलैमा ठेगान लगाइदिए । यसरी ठेगान लगाइएका फिल्महरूमा सलमान खान अभिनित रेस- थ्री, आमिर खान र अमिताभ बच्चन अभिनित ठग्स अफ हिन्दोस्तान परेका छन् भने सुरुका चार दिनको अवस्था हेर्दा जीरोले पनि भारतीय बक्स अफिसबाट ठुलो लगानी असुल गर्ने छाँट देखिन्न ।

फेरी यस वर्ष सामान्य बजेटमा निर्माण गरिएका, ठुलो स्टारकास्ट नभएका र सीमित पर्दाहरूमा मात्र रिलिज गरिएका स्त्री र बधाई हो जस्ता फिल्महरू राम्रो विषयवस्तुका किअरण बक्सअफिसमा समेत राम्रो प्रदर्शन गर्न सफल भए भने राम्रो बजेट, ठुलो स्टारकास्ट र देशका अधिकांश हलहरूमा रिलिज हुँदा पनि कतिपय फिल्महरू लगानी समेत उठाउन नसक्ने भएका छन् ।

याे पनि पढ्नुस  एयरपोर्टमा रणवीर बने दीपिकाको लागि रक्षा कवच

शाहरुखका चलचित्रहरूको विगतको प्रदर्शन

विगत केही वर्ष यता शाहरुखका चलचित्रहरूले खासै गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । उनको पछिल्लो प्रदर्शित फिल्म जब ह्यारी मेट सेजल थियो । सय करोड लगानीको उक्त चलचित्रले भारतीय बक्स अफिसबाट मात्र ६४ करोड मा सन्तोष गर्नु पर्यो । उनको पछिल्लो सफल चलचित्र रईसले पनि भने जस्तो कमाइ भने गरेको थिएन ।

हुन त सधैं फिल्मको स्क्रिप्टमा ‘चुजी’ रहेका शाहरुख खान चेन्नई एक्सप्रेस यता मसाला फिल्मतिर बढी तानिएका थिए । उनले यसै मेसोमा ह्याप्पी न्यु इयर जस्तो चलचित्र पनि गरे जसमा निकै आलोचना खेप्नु परे पनि उनलाई घाटा भने लागेन । तर एउटा स्टारको फ्यान र स्टारको स्टारडमबीच द्वन्द्वको विषयलाई लिएर बनाइएको ‘फ्यान’ नराम्ररी फ्लप भएपछि ‘ब्याकफुट’मा आएका शाहरुख गतिलो सुरुवातको आशमा छन् ।

बलिउडमा दक्षिण भारतीय दबदबा

उत्तर भारतमा दक्षिण भारतीय फिल्महरू हिन्दीमा डब गरिएर प्रदर्शन गरिने पुरानै चलन हो तर त्यस्ता चलचित्रहरू सामान्य कमाईमै चित्त बुझाउने गर्दथे ।

नब्बेको दशकको इन्डियन र काधलन, र त्यसपछिका रोबोट र बाहुबली जस्ता फिल्महरूले उत्तर र दक्षिण भारतबीच भाषा र संस्कृतिको फरकलाई नै पाटिदिए ।

गत वर्ष प्रदर्शित बहुबाली द कन्क्लुजनले त हिन्दी संस्करणबाट नै सबै बलिउड फिल्महरूलाई पछारेर ५ सय करोड भन्दा बढी कमाइ गरिदिए पछि हिन्दी सिनेमाका दर्शकहरू फरक स्वादको खोजीमा रहेका छन् । यस्तोमा ठुला स्टारहरू पुरानै मसला फिल्मको सहज सूत्र समातेर बजारमा आएपछि असफलता पाउनु सामान्य नै मानिन्छ ।

याे पनि पढ्नुस  सिद्धार्थ मल्होत्राको ‘मरजावां’मा रिक्रिएट गरे सोनम कपूरको गीत ‘मसकली'

केजीएफको उत्कृष्ट प्रदर्शन

हुन त उत्तर भारतका अधिकांश हलहरूमा जीरो प्रदर्शन भैरहेको छ तर यसै क्रममा थोरै मात्र (लगभग २ हजार ४ सय) स्क्रीनहरूमा रिलिज भएको कन्नड भाषाको फिल्म ‘केजिएफ: च्याप्टर वान’ले जीरोलाई कडा टक्कर दिइरहेको छ ।

उसरी कन्नड सिनेमा उद्योग सानो आकारको छ र यसले हिन्दी, तमिल या तेलगू सिनेमालाई खासै असर गर्दैन तर यस चलचित्रलाई भने बाहुबलीको कन्नड उत्तराधिकारीका रूपमा हेरिंदै छ । भारतको अनलाइन सिनेमा टिकेट बेच्ने वेबसाइट ‘बुक माइ सो’मा दर्शकहरूको रुझान जीरो भन्दा बढी केजिएफमा देखिएको थियो ।

यस फिल्ममा शाहरुख बामपुड्के बउआ सिंहको भूमिकामा देखा परेका छन् ।प्रयोगका दृष्टिले यो शाहरुखको लागि नौलो अनुभव हो तर दर्शकहरूले मन नपराइदिए पछि प्रयोगले मात्र केही हुँदो रहेनछ ।

हुन त यस चलचित्रसँग आफ्नो लगानी उठाउन पर्याप्त समय रहेको छ र यसबीच बलिउडमा कुनै ठुलो चलचित्र पनि रिलिज भैरहको छैन र क्रिसमस र नयाँ वर्षको विदाको फाइदा फिल्मलाई फाइदा हुन सक्छ । तर फिल्मको विषयवस्तुप्रति बेमन दर्शकलाई विदाले मात्र तान्न सक्दैन ।

कमेन्ट गर्नुहोस्