स्वर्ण पदक विजेता महर्जनलाई तीन लाख दिने घोषणा

काठमाडौ‌, पुष १० । नेपाल शारीरिक सुगठन संघले थाइल्याण्डको चाङमईमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई तीन लाख रुपैयाँबाट सम्मानित गर्ने घोषणा गरेको छ ।

नेपाल बडी बिल्डिङ एशोसिएशनका अध्यक्ष राजेशबाबु श्रेष्ठले विज्ञप्त जारी गर्दै महेश्वरलाई सङ्घका तर्फबाट रु तीन लाख प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महेश्वरले सङ्घको मात्रै नभई सिङ्गो देशको नाम उचो बनाएको उनको भनाइ छ ।

थाइल्याण्डको चाङमईमा भएको १०औं विश्व च्याम्पियनशिपमा स्वर्ण जितेर नेपालको नाम संसारमा चिनाउन सफल भएको भन्दै संघले महर्जनलाई सो सम्मान प्रदान गर्न लागेको हो । विश्व च्याम्पियनशिपमा नेपाली बडी बिल्डर विजेता बनेको यो पहिलोपटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जितेका थिए ।

च्याम्पियनशिपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए । बाह्र खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भएको थियो । आजै स्वदेश फर्केका महर्जनको स्वागतका लागि विमानस्थलमा नेपाली समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्