नेपाल आइडल रवि ओडलाई ठूलो शोक, करेन्ट लागेर आमाको मृत्यु

कैलाली, पुष ११ । दोस्रो नेपाल आइडलका विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल धनगढी पुर्‍याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यवस्तताका कारण घर गएका थिएनन् ।

रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ ।

आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए ।

रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै रहेका बेला घटना भएको हो। रविका तीन भाइ र दुई बहिनी छन्। जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित यी भाइबहिनी सबैलाई विष्नाले नै हुर्काएकी थिइन्।

नेपाल आइडलको उपाधि जितेका रविले जितको खुसियाली मानाउँदै गर्दा उनको परिवारमा यो विपत्ति आएको छ।

नेपालको पश्चिमी सीमामा अवस्थति कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा जन्मिएका थिए। २०५४ साल चैतमा टायलको त्यही सानो झुपडीमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन्। उमाको निधनपछि रविसहित सबै भाइबहिनीलाई विष्नाले नै हुर्काइन्।

रविका बुवा राजेन्द्र अहिले पनि भारतमा पालेको काम गर्छन्, परिवार पाल्नका लागि । रविका हजुरबुवा पहाडी जिल्ला छामबाट बसाइँ सरेर कञ्चनपुर झरेका थिए। रविका हजुरबुवा र बुवा जीविका चलाउने गतिलो स्रोत खोज्दै अछामको साँफेबगर नगरपालिका (साविक बुढाकोट गाविस) बाट कञ्चनपुर झरेका थिए।

गरिबीकै कारण उनका बुवा र हजुरबुवाले भारतमै ‘पाले’को काम गरेर दुई चार पैसा कमाउँदैछन्। रवि २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए।

कमेन्ट गर्नुहोस्