स्थायी कमिटिमा प्रचण्डको सम्बोधनः पार्टी र सरकारलाई सफल बनाउन बैठक ऐतिहासिक, प्रतिवेदन परिमार्जन गर्न प्रस्ताव

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकमा अध्यक्ष प्रचण्डले प्रतिवेदनमाथि उठेका विविध विचारमाथि संश्लेषणसहित सम्बोधन गरेका छन् ।
आज बिहान बसेको स्थायी कमिटिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले स्थायी कमिटिमा प्रस्तुत प्रतिवेदन तथा त्यसमाथि व्यक्त भएका विचार पार्टी र सरकारलाई लोकप्रिय तथा जन अपेक्षा अनुरुप बनाउन महत्वपूर्ण र ऐतिहासिक रहेको बताए ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले मात्र सम्बोधन गरेका थिए । स्थायी कमिटिको बैठक भोली फेरी बोलाइएको छ । भोलीको बैठकमा अर्का अध्यक्ष एवं प्रम केपी शर्मा ओलीले आफ्नो धारणा राख्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार , बैठकमा अध्यक्ष प्रचण्डले राखेको पहिलो विषय पार्टी एकताको ऐतिहासिक महत्व, यसको वस्तुगत र आत्मगत आधारका बारेमा थियो । अहिलेको परिस्थितिमा पार्टी एकता किन गर्नुपर्यो र नेपाली समाजलाई रुपान्तरण गर्दै समाजवादसम्म पुर्याउन एकता प्रक्रियालाई कसरी अगाडि बढाएर जुझारु संगठन बनाउने विषयमा प्रचण्डले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा प्रचण्डले स्थायी समिति सदस्यहरुबाट व्यक्त विचार, सुझाव र आलोचनामाथि ध्यान दिई अध्यक्षद्वयले प्रस्तुत गरेका प्रतिवेदनलाई पारित गर्दा पार्टी र राष्ट्रलाई उपयुक्त हुने बताए ।

स्थायी कमिटिमा २९ मंसिरदेखि भएको छलफलले पार्टी र सरकार दुबैलाई सबल बनाउने, सरकारको रक्षा, सरकारले गरेका राम्रा कामको प्रचारमा सघाउन पुर्‍याउने धारणापनि प्रचण्डले व्यक्त गरेका थिए।
यस किसिमिको छलफलबाट पार्टी र सरकारका कमीकमजोरीहरु सच्याएर अघि बढ्नपनि यो बैठक सहयोगी भएको प्रचण्डको धारणा रहेको प्रवक्ता श्रेष्ठले बताए।

‘पार्टी र सरकारलाई सफल बनाउन यो बैठक ऐतिहासिक सावित भएको उहाँले बताउनुभयो’ श्रेष्ठले थपे, ‘भोलिको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीले बोल्नु हुनेछ। र, त्यसपछि बैठकले आवस्यक निर्णय गर्नेछ।’

आजको बैठक पार्टीका पुराना नेता योगेन्द्र शाहप्रति श्रद्धान्जली अर्पण गर्दै सुरु भएको थियो। शाहको मंगलबार बिहान गृहजिल्ला धनुषामा निधन भएको थियो।

कमेन्ट गर्नुहोस्