आमासँग खुसी पनि साट्न पाएनन् रविले !

काठमाडौं, पुष ११ । संसारभरिका नेपालीको मायालु बनेका रवि । नेपाल आइडल फिनालेका दिनहरु आउँदै गर्दा झनै चर्चामा आए उनी ।

सबैको अपेक्षा रवि नै नेपाल आइडल बन्ने थियो । र, यही अनुरुप उनले उपाधि पनि जिते ।

केहीले भने यो उपाधिलाई क्षेत्रीयतासँग पनि नजोडेका होइनन । तर जुन क्षेत्रको कुरा आलोचकहरुले गरेका थिए, त्यो क्षेत्र बाहिरका प्रशंसक नै रविको पक्षमा खुलेर देखिएपछि आलोचना गर्नेहरुको मुख बन्द भएको थियो ।

राजधानीबाट रवि आफ्नो गृह क्षेत्र पुगे ।

सुदूरपश्चिम प्रदेशले उनको भव्य स्वागत र सम्मान गर्यो ।

धनगढीबाट रवि सोझै अतरिया हुँदै कञ्चनपुर लागे ।

बाटैमा पर्छ उनको घर ।

तर रविलाई प्रसंसकले यसरी पछ्याएका थिए कि उनी घर जानु भन्दा पनि कृष्णपुर हुँदै लागे महेन्द्रनगर

महेन्द्रनगरमा जनसागर नै ओर्लियो ।

रविलाई हेर्न, उनलाई बधाई भन्नेहरुको ओइरो ।

भीमदत्त नगरपालिकाले सम्मान गर्यो रविलाई ।

रवि यही खुशीको माहौलमा थिए ।

खुशी, खुशी र खुशी…।

तर उनको खुशी…

यही खुशीबीच आज बिहानै रविले अकल्पनीय समाचार सुने ।

अकल्पनीय, अविश्वसनीय…।

जीवनमा पहिलोपटक यसरी खुशी पाएका थिए रविले ।

भन्थे– बुवाले धेरै दुख गरे, नेपाल फर्काउन निकै कोशिस गरे तर सकिनँ । अब भने नेपाल फर्काउँछु ।

रविको योजना बुवालाई नेपाल फर्काएर हाँसीखुसी जीवन बिताउने थियो ।

जीवनमा आमाको पीडा त उनले बाल्यकालदेखि नै भोग्दै आए ।

तर कान्छी आमा आएपछि उनको पीडामा कान्छी आमाको मायाले साथ दिएको थियो ।

आर्थिकरुपमा जे जस्तो भएपनि टुहुरो भनेर हेपिनु परेको थिएन ।

तर आज बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा उनकी आमाको मृत्यु भयो करेन्ट लागेर ।

सेती अञ्चल अस्पताल धनगढी पुर्याउँदा बिहान पौने ९ बजे चिकित्सकहरुले मृत घोषित गरे ।

रविले खुसी त के अन्तिम समयमा सास छँदै आमाको मुहार सम्म हेर्न पाएनन् ।

जीवनमा कतिखेर के आइपर्छ भन्न सकिन्न ।

रविको जीवनमा पनि यस्तै भए ।

अब परिवारको थप जिम्मेवारी पनि उनको काँधमा थपिएको छ ।

एकातिर नेपाल आइडलले ल्याएको जिम्मेवारी, अर्कोतर्फ आमा नहुँदा र बा भारत भएकोले घरको दायित्व ।

रविको जीवनको यो संघर्ष जति दारुण छ, त्यति लोभलाग्दो उनको कला ।

अब यो कलाले उनको पीडामा मल्हम लगाउन सकोस

जीवनका पीडा बिर्सेर संघर्षपथमा अघि बढन साहस देओस

हार्दिक श्रद्दासुमन रविको आमाप्रति

कमेन्ट गर्नुहोस्