कर्मचारी समायोजनका लागि आवेदन खुला, अनलाईनबाटै भर्न सकिने

काठमाडौं, विवादमा रहेको कर्मचारी समायोजन प्रक्रियाका लागि सरकारले सूचना जारी गरेको छ । । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारदेखि कर्मचारी समायोजनका लागि वेवसाइटमा सूचना प्रकाशित गर्दै प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले चारवटा बेग्लाबेग्लै सूचना वेभसाइटमा प्रकाशन गरेको छ । यस अन्तर्गत निम्न प्रकृतिका कर्मचारी रहेका छन् ।

(क) प्रदेश र स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारीका लागि,

(ख) साविकमा जिल्ला विकास समितिहरुको सेवामा स्थायी नियुक्ति पाई हाल जिल्ला समन्वय समिति वा कुनै स्थानीय तहमा कार्यरत कर्मचारीका लागि

(ग) अध्यादेश प्रारम्भ हुनुअघि सरकारी सेवामा नियुक्ति भएका तर नयाँ संरचना तथा दरबन्दीमा नपरेका स्थायी कर्मचारीका लागि

समायोजनका लागि कर्मचारीले अनलाईनमार्फत नै आवेदन दिन सक्नेछन । जेष्ठतालाई आधार बनाइएकोले जेष्ठले रोजेपछि मात्रै कनिष्ठ कर्मचारीले उक्त स्थान रोज्न पाउने छन् ।

सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी पनि स्वीकृत गरेको छ । जस अनुसार संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम भएको छ ।

मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले यही संरचना र दरबन्दीका आधारमा कर्मचारी समायोजन प्रक्रिया अघि बढाउने बताए ।

कमेन्ट गर्नुहोस्