कांग्रेसलाई प्रचण्डको आव्हान: संविधान कार्यान्वयन र समृद्धिको अभियानमा सँगै अघि बढौं

काठमाडौं, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियादेखि संविधानसम्म हातेमालो गरेर ऐतिहासिक उपलब्धि हासिल गर्न सकेको भन्दै अबका दिनमा पनि राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिएका छन् ।

संघीय संसदको हिउँदे अधिवेशनमा सम्बोधन गर्दै प्रचण्डले जनतामा निराशा छाउने अभिव्यक्ति नदिन समेत सबैमा अपील गरे ।

पढनुस प्रचण्डको भनाईका मुख्य अंश

आफूहरुले ल्याएको परिवर्तनलाई संविधान निर्माणका साझेदार दलहरुले नै भुल्न लागेको हो कि  ?

अहिले नेकपा र नेपाली कांग्रेस दुबैको बैठक एउटै समयमा बस्यो । यो सकारात्मक संयोग हो । दुबै बैठकको साझा एजेण्डा भनेको संविधान कार्यान्वयनतर्फ जानुपर्छ र विकास र समृद्धितर्फ जानुपर्छ भन्ने नै छ । यो हेर्दा एकै ठाउँमा छौं भनेर गर्व र खुशी हुन्छ ।

मैले सात राजनीतिक दलका तर्फबाट त्यतिखेर गिरिजाप्रसाद कोइरालासँग भएका छलफल, सहमति, प्रयासको लगातार संस्मरण गर्छु । हस्ताक्षर गर्ने एकजना भएकोले यो भारी मेरै टाउकोमा छ कि भन्ने पनि लाग्छ ।

हामी ठीक दिशातिर गइरहेका छौं ।

कमी कमजोरी छन् । नयाँ प्रणाली जाँदा सहज हुँदैन । नयाँ बाटोमा के होला कसो होला भन्ने आशंका, अप्ठ्यारा आउँछन नै । ।

तर हिजो जसरी युद्दको विकराल स्थ्तििलाई शान्तिको यस्तो राम्रो स्थितिमा ल्याउन पहलकदमी गर्यौं भने अहिले त हामी यति राम्रो परिस्थितिमा छौं । राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा नेपालको सम्मान बढेको छ ।
अब यो अवसरलाई विकास र समृद्दितर्फ यही एकताबद्ध भएर लैजानुपर्छ ।

अब विकासको यात्रालाई पनि १२ बुँदे, ७ बुँदे हुँदै संविधानसम्मको एकताजस्तो अघि बढाउनुपर्छ । यसरी हातेमालो गरे मात्रै नेपालको, नेपाली जनताको भावनालाई सम्मान र सम्बोधन गर्न सक्छौं ।
यो बीचमा कैयन कमीकमजोरी भए । एकता सात महिना हुँदा पनि टुंगिएको छैन । सरकारले छिटोछिटो सरकार गर्ने सपना देखेपनि कैयन काम हुन सकेका छैनन । यो लोकतान्त्रिक प्रणालीले पनि बाधा पुर्याएको छ । प्रणाली मिलाउँछौं भन्दा पनि एक महिनामा हुने काम १५ महिना लाग्ने अवस्था छ ।

महिला हिंसा बढेकोमा, बलात्कारका घटनामा हामी निकै चिन्तित छौं । त्यसमा पनि कञ्चनपुरको निर्मला पन्तको बलात्कारको हत्याले सबैभन्दा बढी संवेदनशील बनायो । सरकारको कार्यक्षमता, अनुसन्धानको क्षमता र हैसियतमाथि प्रश्नचिन्ह खडा भएकै हो । हामीले पार्टी र सरकारसँग बस्दा यसको अनुसन्धान गम्भीर र दृढतापूर्वक हुनुपर्छ भनेर गएका छौं । मैले यो विषयमा गृह र प्रधानमन्त्री कार्यालयसँग बारम्बार छलफल गरेको छु । शुरुमा कतै न कतै कमी भएको महसुस गरेर गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्छ भनेपछि सरकार अहिले गम्भीर ढंगले लागेको पाएका छौं । अब यो घटनामा सत्यतथ्य ल्याउन प्रतिपक्ष, सत्तापक्ष सबैको दायित्व हो ।

निर्मला पन्तको घटनापछि पनि केही घटना देखिए । श्रृंखला नै हो कि भन्ने पनि देखियो । तर त्यसपछि सरकार र प्रहरी प्रशासनको तत्परता देखियो । तत्कालै अपराधी पक्राउ पर्ने अवस्था सिर्जना भयो । यो हिंसाको ग्राफ बिस्तारै तल गएको कुरामा पनि हेक्का राख्नुपर्छ ।

हामी परिवर्तनका हिमायतीहरुले केही भएकै छैन भनेर निराशा र जनतालाई डराउने खालको अवस्था सिर्जना गर्नुहुँदैन । जनताको भावना र मनोदशालाई नकारात्मक नहुने गरी आफ्ना कुरा राख्नुपर्छ भन्ने पनि त्यत्तिकै महत्वपूर्ण छ ।

यो अधिवेशनले आफ्नो जिम्मेवारी ठीक ढंगले पुरा गर्न सक्ने छ भन्ने विश्वास लिएको छु ।

कमेन्ट गर्नुहोस्