दाइजोविरुद्ध मुस्लिम महिलाहरूको प्रदर्शन

विराटनगनर, पुस ११ । बिराटनगरका मुस्लिम महिलाहरुले बुधबार दाइजोविरुद्ध ऱ्याली निकालेका छन् । इस्लामी सङ्घ नेपालको आयोजनामा ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’ भन्ने नारासहित उनीहरूले ऱ्याली निकालेका हुन् ।

इस्लामी सङ्घ नेपालले दाइजो विरुद्धको १० दिने देशव्यापी अभियान संचालन गरिरहेको छ । उक्त ऱ्याली नगरका मुख्य मुख्य भागको परिक्रमापश्चात् जिल्ला प्रशासन कार्यालयअगाडि आएर कोणसभामा परिणत भएको थियो ।

मुस्लिम समुदायका महिला तथा युवायुवती सहभागी रहेको ऱ्यालीमा सहभागीले ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’ ‘छोरीलाई पैतृक सम्पत्तिमा अंश देऊ’लगायत महिला अधिकारका पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

संस्थाका प्रदेश अध्यक्ष मौलाना जुल्फिकार अलीले छोरीलाई दाइजो सट्टा शिक्षा दिई योग्य बनाउनुपर्नेमा जोड दिँदै दाइजोका कारण महिलालाई यातना दिनु मानव सभ्यता विपरीत कार्य रहेको बताए ।

इस्लामी सङ्घको देशव्यापीरुपमा दाइजोविरुद्ध अभियानअन्तर्गत विराटनगरमा जनचेतनामूलक ऱ्याली निकालिएको समितिका सदस्य मोहम्मद अफजल हुसैन गुल्जारले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्