पार्टी व्यवहारवाद र संशोधनवादमा फस्ने खतरा, सचेत हुनु जरुरी– प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीलाई संसदवादमा फस्नबाट जोगाउनुपर्नेमा जोड दिनु भएको छ ।

पार्टीभित्र मौलाएको गुटबन्दीतर्फ संकेत गदै अध्यक्ष प्रचण्डले पार्टीलाई जनताले अपेक्षा गरे अनुरुप अघि बढाउन विशेष सतर्कता आवश्यक भएको बताएका हुन ।

पार्टी स्थायी कमिटिमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकता गर्नुपर्ने बस्तुगत तथा आत्मगत आधारबारे बोलेका थिए ।

प्रचण्डले पार्टीमा दुई अध्यक्ष हुँदा फरक नपरेको समेत बताए ।

ओलीसँग असमझदारी बढाउने पक्षमा आफू नरहेको उनको स्पष्ट भनाई थियो , पार्टी एकता सुरु भएदेखि नै त्यसो हुन नदिन विभिन्न प्रलोभन, धाकधम्की आएको प्रसंग पनि उनले सुनाए। तर यसमा आफू सचेत रहेको उनको भनाइ थियो। ‘कहिलेकाहीं प्रधानमन्त्री भएका अध्यक्षलाई अर्कोले चलाउनु पर्ने हुन सक्छ। यसमा म एकदमै सचेत छु,’ उनले भने, ‘कहिलेकाहीं नखाएको विष लाग्छ, सहनुपर्छ।’

उनले पार्टी र आन्दोलन व्यवहारवाद र संशोधनवादमा फस्ने खतरा औँल्याए। ‘हामीकहाँ अहिले संसदीय राजनीति हावी छ। संसद्मा सत्ता र प्रतिपक्ष भएकोले होला, पार्टी राजनीतिभित्र पनि त्यसको प्रतिबिम्ब देखिएको छ। हामी त्यसवाट सचेत बन्न आवश्यक छ,’ उनले भने, ‘व्यवहारवाद र संसोधनवादमा फस्ने खतराबाट जोगिनु आवश्यक छ।’

अध्यक्ष प्रचण्डले पार्टीभित्र आलोचना र फरक मत स्वभाविक भएकोले पार्टी एकता तथा सरकार सञ्चालन सम्बन्धी मध्यबिन्दुको खोजी गरेका थिए ।

स्थायी कमिटिमा उठेका विषयहरुको संश्लेषण गर्दै अध्यक्ष प्रचण्डले तीन वटा प्रस्ताव छलफलका लागि राखेका थिए ।

उनले राखेका प्रस्तावः
१) एक महिनामा एकीकरण टुंग्याउनेः केन्द्रीय विभाग, आयोगहरु, प्रतिनिधि परिषद, जिल्लादेखि गाउँ कमिटी र जनवर्गीय संगठन० पूरा गर्न स्थायी समिति सदस्य समेत रहेको छुट्टै कार्यदल बनाई एक सातासम्म गृहकार्य गर्ने। त्यसपछि स्थायी समितिबाट अनुमोदन गराएर एक महिनाभित्र एकीकरण सम्पन्न गर्ने।

२) प्रतिवेदन परिमार्जन गर्ने ः राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएका सुझाव, टिप्पणी र आलोचनालाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षले नै लिने।

३) सरकार चलाउने संयन्त्र बनाउने ः पार्टी र सरकारलाई अलग होइन, द्वन्द्वात्मक सम्बन्धका आधार चलाउने। केन्द्रदेखि स्थानीय तहसम्मै सामूहिक नेतृत्वमा जाने र सरकार सञ्चालन गर्न पार्टीले सस्थागत संन्यत्र निर्माण गर्ने।

कमेन्ट गर्नुहोस्