बृहत राष्ट्रिय एकताका पक्षमा यस्तो थियो प्रचण्डको संसदमा सम्बोधन

काठमाडौं, नेकपाका अध्यक्ष प्रचण्डले संघीय संसदको हिउँदे अधिवेशन शुरु भएको दिन गरेको हिजोको भाषण निकै चर्चामा रह्यो । सदनमा प्रतिपक्षका सांसदहरुले सरकारको कडा आलोचना गरेपनि प्रचण्डले भने देशको विकासका लागि सबै मिल्नैपर्नेमा जोड दिए ।

शान्ति प्रक्रियाका मुख्य कार्यभारहरु मिलेरै सम्भव भएको बताउँदै प्रचण्डले जनताको हित हुने कुरामा सबैबीच एकताको खाँचो औंल्याए ।

अहिले गिरिजाप्रसाद नभएको अवस्थामा शान्ति प्रक्रियाका बाँकी कार्यभार आफ्नै टाउकोमा रहेको बताउँदै उनले नेपाली कांग्रेसलाई समेत उपलब्धि गुम्न बल पुग्ने किसिमका अभिव्यक्ति नदिन आग्रह गरे ।

पढनुस अरु के के भने त ?

  • आफूहरुले ल्याएको परिवर्तनलाई संविधान निर्माणका साझेदार दलहरुले नै भुल्न लागेको हो कि  रु
  • अहिले नेकपा र नेपाली कांग्रेस दुबैको बैठक एउटै समयमा बस्यो । यो सकारात्मक संयोग हो । दुबै बैठकको साझा एजेण्डा भनेको संविधान कार्यान्वयनतर्फ जानुपर्छ र विकास र समृद्धितर्फ जानुपर्छ भन्ने नै छ । यो हेर्दा एकै ठाउँमा छौं भनेर गर्व र खुशी हुन्छ ।
  • मैले सात राजनीतिक दलका तर्फबाट त्यतिखेर गिरिजाप्रसाद कोइरालासँग भएका छलफल, सहमति, प्रयासको लगातार संस्मरण गर्छु । हस्ताक्षर गर्ने एकजना भएकोले यो भारी मेरै टाउकोमा छ कि भन्ने पनि लाग्छ ।
  • हामी ठीक दिशातिर गइरहेका छौं । कमी कमजोरी छन् । नयाँ प्रणाली जाँदा सहज हुँदैन । नयाँ बाटोमा के होला कसो होला भन्ने आशंका, अप्ठ्यारा आउँछन नै । ।
  • तर हिजो जसरी युद्दको विकराल स्थ्तििलाई शान्तिको यस्तो राम्रो स्थितिमा ल्याउन पहलकदमी गर्यौं भने अहिले त हामी यति राम्रो परिस्थितिमा छौं । राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा नेपालको सम्मान बढेको छ ।
    अब यो अवसरलाई विकास र समृद्दितर्फ यही एकताबद्ध भएर लैजानुपर्छ ।
  • अब विकासको यात्रालाई पनि १२ बुँदे, ७ बुँदे हुँदै संविधानसम्मको एकताजस्तो अघि बढाउनुपर्छ । यसरी हातेमालो गरे मात्रै नेपालको, नेपाली जनताको भावनालाई सम्मान र सम्बोधन गर्न सक्छौं ।
  • यो बीचमा कैयन कमीकमजोरी भए । एकता सात महिना हुँदा पनि टुंगिएको छैन । सरकारले छिटोछिटो सरकार गर्ने सपना देखेपनि कैयन काम हुन सकेका छैनन । यो लोकतान्त्रिक प्रणालीले पनि बाधा पुर्याएको छ । प्रणाली मिलाउँछौं भन्दा पनि एक महिनामा हुने काम १५ महिना लाग्ने अवस्था छ ।
  • महिला हिंसा बढेकोमा, बलात्कारका घटनामा हामी निकै चिन्तित छौं । त्यसमा पनि कञ्चनपुरको निर्मला पन्तको बलात्कारको हत्याले सबैभन्दा बढी संवेदनशील बनायो । सरकारको कार्यक्षमता, अनुसन्धानको क्षमता र हैसियतमाथि प्रश्नचिन्ह खडा भएकै हो । हामीले पार्टी र सरकारसँग बस्दा यसको अनुसन्धान गम्भीर र दृढतापूर्वक हुनुपर्छ भनेर गएका छौं । मैले यो विषयमा गृह र प्रधानमन्त्री कार्यालयसँग बारम्बार छलफल गरेको छु । शुरुमा कतै न कतै कमी भएको महसुस गरेर गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्छ भनेपछि सरकार अहिले गम्भीर ढंगले लागेको पाएका छौं । अब यो घटनामा सत्यतथ्य ल्याउन प्रतिपक्ष, सत्तापक्ष सबैको दायित्व हो ।
  • निर्मला पन्तको घटनापछि पनि केही घटना देखिए । श्रृंखला नै हो कि भन्ने पनि देखियो । तर त्यसपछि सरकार र प्रहरी प्रशासनको तत्परता देखियो । तत्कालै अपराधी पक्राउ पर्ने अवस्था सिर्जना भयो । यो हिंसाको ग्राफ बिस्तारै तल गएको कुरामा पनि हेक्का राख्नुपर्छ ।
  • हामी परिवर्तनका हिमायतीहरुले केही भएकै छैन भनेर निराशा र जनतालाई डराउने खालको अवस्था सिर्जना गर्नुहुँदैन । जनताको भावना र मनोदशालाई नकारात्मक नहुने गरी आफ्ना कुरा राख्नुपर्छ भन्ने पनि त्यत्तिकै महत्वपूर्ण छ ।
  • यो अधिवेशनले आफ्नो जिम्मेवारी ठीक ढंगले पुरा गर्न सक्ने छ भन्ने विश्वास लिएको छु ।

कमेन्ट गर्नुहोस्