बिहानै टिपर पल्टिँदा एककाे मृत्यु

काठमाडौं, पुस १३ । काठमाडौंको बालाजु बाइपासमा आज बिहान माटो लोड भएको टिपर पल्टिदा एक जनाको मृत्यु भएको छ भने ४ वटा ट्याक्सीमा क्षति पुगेको छ ।

ना७ख ७००५ नम्बरको टिपर पल्टिँदा सडक किनारमा चिया बेच्दै गरेका धादिङका ७० वर्षीय दलबहादुर विसुङखे, उनकी ६५ वर्षीया श्रीमती सानुनानी र चिया पिउँदै गरेका नुवाकोटको ककनी गाउँपालिका ५ का ४८ वर्षीय प्रज्ञारत्न लामा उक्त टिपरमा रहेको माटोले पुरिएका थिए ।

विसुङखे दम्पत्तीलाई उद्धार गरि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएकोमा दलबहादुरको उपचारको क्रममा केही समय अगाडी मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । लामाको ग्रिनसिटी अस्पताल धापासीमा उपचार भइरहेको छ ।

माटोले पुरिंदा बा१ज १९४१ नम्बरको ट्याक्सी पूर्ण रुपमा क्षति भएको छ ।

बा१ज ७१८३, बा२ज ४३५ र बा२ज १५५१ नम्बरको ट्याक्सीमा भने सामान्य क्षति पुगेको छ । गोलढुङाबाट माटो लिएर नयाँबसपार्कतर्फ आउँदै गरेको ना७ख ७००५ नम्बरको टिपर पल्टिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ठेलागाडा नजिक चिया खान बसेका ट्याक्सी चालक भने भागेर ज्यान जोगाउन सफल भएका छन् । दुर्घटनालगत्तै डोजरसहित स्थानीय प्रहरी उद्धारमा खटिएका थिए ।

कमेन्ट गर्नुहोस्